झापा,मंसिर १ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले आज गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो ।
एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलबाट मतदान गर्ने उहाँले जानकारी दिनुभयो।
देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएको र आयोगले अस्थायी मतदाता नामावली समेत तयार पारेको उहाँले बताउनुभयो । करिव ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने उहाँको भनाई छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ हजार ५ सय १२ जना चुनावी मैदानमा भिड्दैछन्।
निर्वाचनका लागि आज राती १२ बजेदेखि स्थिर समय सुरु हुदै छ । अव कुनैपनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । आज राति १२ बजेपछि कुनै उम्मेदवारले निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए २५ हजार रुपैयाँ जरिवाना तिराउने प्रमुख आयुक्त थपलियाको भनाई छ ।
निर्वाचन कसुर तथा सजाय ऐनमा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य पुरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनैपनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।
यस्तो कार्य गरेको पाइए आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । आयोगले निर्वाचन विथोल्ने, बहिष्कार गर्ने वा बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट बञ्चित गराउने, डर धाक धम्की दिने कार्य रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जनाएको छ ।