इटाभट्टा, असोज ६ ।
मेचीनगरका जनप्रतिनिधिहरुले दुइ बर्षमा भत्ता र विभिन्न सुविधा बापत ४ करोड ५० लाख रकम खर्च गरेका छन । आर्थिक बर्ष २०७५/०७६ र २०७६/०७७ मा नगरका जनप्रतिनिधिहरुले भत्ता, मासिक सुविधा, भ्रमण र इन्धन बापत उक्त रकम खर्च गरेका हुन ।
चालु आर्थिक बर्ष २०७७/०७८ का लागि पनि तिनै शिर्षकमा दुइ करोड २० लाख रकम बिनियोजन गरिएको छ । चालु बर्ष सकिदाँ ३ बर्षमा मेचीनगर नगरपालिकाका जनप्रनितिधिहरुले आफ्नो सेवा सुविधामा मात्रै ६ करोड ७० लाख रकम खर्च गर्नेछन ।
मेचीनगर नगरपालिकाको आधिकारिक वेब साइडमा प्रकाशन गरिएको तथ्याङ्कलाई हेर्दा जनप्रतिनिधिहरुले ६ वटा शिर्षकमा उक्त रकम खर्च गरेका हुन ।
नगरपालिकाले प्रकाशन गरेको बार्षिक निति कार्यक्रम तथा बजेटमा उल्लेख भए अनुसार ‘पदाधिकारी अन्य सुविधा’ शिर्षकमा पछिल्लो दुई बर्षमा सबैभन्दा बढी २ करोड ४७ लाख रकम खर्च भएको छ । यो शिर्षकमा आ.ब २०७५/०७६ मा एक करोड र आ.ब २०७६/०७७ मा एक करोड ४७ लाख रकम खर्च भएको देखिन्छ । सोही शिर्षकमा चालु आ.ब २०७७÷०७८ का लागि एक करोड ४० लाख रकम बिनियोजन गरिएको छ ।
मेचीनगरका जनप्रतिनिधिहरुले बैठक भत्ता बापत पछिल्लो दुई बर्षमा ९५ लाख रकम लिएको नगरपालिकाको तथ्याङ्कले देखाउँछ । ‘नगरकार्यपालिका, समिति, उपसमिति र वडा समितिको बैठक भत्ता’ शिर्षकमा आ.ब २०७५/०७६ मा ५५ लाख, आ.ब २०७६/०७७ मा ४० लाख रकम खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको बार्षिक बजेटमा उल्लेख गरिएको छ । सोही शिर्षकमा चालु आ.ब २०७७/०७८ का लागि ३० लाख रकम बिनियोजन गरिएको छ ।
नगरका पदाधिकारीहरुका लागि भन्य भत्तामा समेत पछिल्लो दुई बर्षमा १६ लाख रकम खर्च भएको छ । नगरको बार्षिक बजेटको ‘पदाधिकारी अन्य भत्ता’ शिर्षकमा आ.ब २०७५/०७६ मा ८ लाख र २०७६/०७७ मा ८ लाख खर्च भइसकेको छ भने सोही शिर्षक मा चालु आ.ब २०७७/०७८ का लागि ८ लाख रकम बिनियोजन गरिएको छ ।
त्यस्तै नगरका जनप्रतिनिधिहरुले भ्रमण बापत पनि निक्कै ठुलो रकम खर्च गरेका छन । पछिल्लो दुई बर्षमा २७ लाख रकम मेचीनगरका जनप्रतिनिधिहरुले भ्रमण बापत खर्च गरेको देखिन्छ । ‘नगर पदाधिकारी भ्रमण खर्च’ शिर्षकमा आ.ब २०७५/०७६ मा १२ लाख र आ.ब २०७६/०७७ मा १५ लाख रकम खर्च गरेका छन । सोही शिर्षकमा चालु आ.ब २०७७/०७८ का लागि १५ लाख रकम बिनियोजन गरिएको छ ।
मेचीनगरका प्रमुख र उपप्रमुखको इन्धनका लागि दुई बर्षमा ३० लाख रुपैया खर्च भएको देखिन्छ । ‘इन्धन (प्रमुख र उपप्रमुख) खर्च’ शिर्षकमा आ.ब २०७५/०७६ मा १५ लाख र आ.ब २०७६/०७७ मा १५ लाख रकम खर्च भएको छ । नगरप्रमुख र उपप्रमुखको इन्धनका लागि चालु आ.ब २०७७/०७८ का लागि पनि १५ रकम बिनियोजन गरिएको छ ।
त्यस्तै नगरपालिकाको नगरसभा सञ्चालनका लागि पछिल्लो दुई बर्षमा ३५ लाख रकम खर्च भएको छ । नगरसभाका लागि आ.ब २०७५/०७६ मा २० लाख र आ.ब. २०७६/०७७ मा १५ लाख रकम खर्च भएको छ । त्यस्तै चालु आ.ब २०७७/०७८ मा नगरसभा सञ्चालनका लागि १२ लाख रकम बिनियोजन गरिएको छ ।
नगरपालिकाहरु मध्ये देशभरमा नै सबैभन्दा बढी बार्षिक बजेट रहेको मेचीनगरमा १५ वटा वडाका अध्यक्ष सहित ७५ जना, कार्यपालिका ३ जना र नगरप्रमुख र उपप्रमुख सहित जम्मा ८० जना जनप्रतिनिधिहरु छन । मेचीनगरको कार्यपालिका बोर्डको संख्या २५ रहेको छ ।