झापा, कार्तिक २८ । झापा क्षेत्र न १ को प्रदेशसभा २ वा (ख) मा दुई गठवन्धन बिच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ । यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरि १० जना उम्मेद्वार चुनावी मैदानमा छन् । रोचक त यहाँ एमाले र काँग्रेस दुवै पार्टीका उम्मेद्वार छैनन् । लोकतान्त्रिक वाम गठवन्धनको तर्फवाट माओवादीका जनयुद्धका कमाण्डर श्यामबीर लिम्बु र एमाले राप्रपा गठवन्धनवाट राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहनु भएकी सबिना बजगाई चुनावी प्रतिस्पर्धामा छन् । बजगाई गत स्थानीय तहको चुनावमा राप्रपाबाट मेचीनगर नगरपालिकाको उपप्रमुखमा समेत उम्मेद्वार हुनुहुन्थ्यो । एमाले र काँग्रेस विच सिधा प्रतिस्पर्धा नहुने भए पछि प्रतिस्पर्धा रोचक तथा परिणाम कस्को पक्षमा जाला भनेर सोझै अनुमान लगाउन निक्कै कठिन छ । श्यामबीर लिम्बु बुद्धशान्ति गाँउपालिका वडा नं ४ का हुनुहुन्छ भने सविना बजगाई मेचीनगर १३ चारआलीकी स्थायी बासिन्दा हुनुहुन्छ । यस क्षेत्रमा मेचीनगरका ९, ११, १२, १३, १४ बुद्धशान्तिका ४, ५, ६, ७ तथा भद्रपुर नगरपालिकाको १० गरि जम्मा १० वटा वडाका कूल ४८ हजार ३ सय ९५जना मतदाता छन् ।
माओवादीका मेचीनगर इन्चार्ज राजन चिमरियाले श्यामबीर लिम्बुलाई पार्टीले उमेद्वार बनाएको विरुद्ध बागी मनोनयन दर्ता गरायता पनि पछि फिर्ता लिनु भयो भने एमाले पृष्ठभुमी रहनु भएका हिराप्रसाद पोखरेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएर चुनावी मैदानमा आए पछि भने बजगाईलाई अप्ठ्यारो पर्न सक्ने देखिन्छ । एमाले क्षेत्र नं २ का पूर्वअध्यक्ष समेत रहनु भएका पोखरेलले एमालेको मत आफुतिर तान्न सक्ने भयले यतिबेला बजगाई सताएको छ । अर्को तर्फ राप्रपाकै पुराना नेता कल्याण खड्का पनि सोही क्षेत्रमा राप्रपा नेपालबाट उम्मेद्वार भएकाले पनि बजागाईमा आउन सक्ने मतहरु खड्का तिर जाने अनुमानले पनि श्याबीर बलियो हुँदै बन्दै गएका छन ।
बजगाई र लिम्बु दुबैलाई उनीहरुको आफ्ना पार्टीका मतदाताले जिताउन सक्ने अवस्था यहाँ छैन । यस्तो अवस्थामा दुबैलाई आ आफ्नो गठवन्धनकै मतको भर पर्नुपर्ने बाध्यता छ । सिद्धान्ततः एमालेले राप्रपालाईु र काँग्रेसले माओवादीलाई मत दिनु पर्ने भएकाले एमाले काँग्रेस दुबैको मत कसरी धुब्रीकरण हुन्छ भन्नेमा बडो रोचक प्रतिस्पर्धा यो क्षेत्रमा देखिने स्पष्टै छ । उनीहरु बाहेक अन्य उमेद्वारले जित्न सक्ने अवस्था पनि यहाँ देखिदैन । दुबैलाई आफ्नो गठवन्धनको सबै मत आँउछ कि आउदैन भन्नेमा नै मुख्य आशंका छ । तर एमालेको बहुसंख्यक मत पोखरेल तिर जाने र काँग्रेसले पनि केही मत पोखरेललाई नै थपिदिने अवस्था आएमा पोखरल पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्लान भन्न सकिदैंन ।
यस प्रदेशसभामा पर्ने वडाहरु मध्ये गत स्थानीय तहको चुनावमा एमाले नेतृत्वको गठवन्धनले बुद्धशान्तिको ७, मेचीनगरको ९, ११, १२, १३ र भद्रपुरको वडा नं १० गरि जम्मा ६ वटा वडाको वडाध्यक्ष जितेको छ भने काँग्रेस नेतृत्वको गठवन्धनले बुद्धशान्तिको वडा नं ४, ५, ६ र मेचीनगरको वडा नं १४ गरि ४ वटा वडाध्यक्ष जितेको छ । यस प्रदेश सभामा पर्ने मेचीनगर र भद्रपुरको वडामा एमालेको र बुद्धशान्तिमा काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । काँग्रेसको पकड रहेको बुद्धशान्ति गाँउपालिकावाट लोकतान्त्रिक वाम गठवन्धनका उमेद्वार श्यामबीरलाई राम्रो मत आउन सम्ने बताइन्छ । एमाले राप्रपा गठवन्धनकी उमेद्वार बजगाई स्वयम् बुद्धशान्तिले आफुलाई चुनौती दिएको स्विकार्छिन । लिम्बुको होम टाउन पनि बुद्धशान्ति रहेकोले आफुलाई एमालेको समेत राम्रो मत आउने श्याबीरको दाबी छ ।
यता,मेचीनगरका वडाबाट बुद्धशान्तिको घाटा तिरी आफुले लीड गर्ने दाबी बजगाई गर्नु हुन्छ । एमालेको प्रभाव रहेको मेचीनगर र भद्रपुरको वडाको एमालेका सबै मत आफ्नो पक्षमा आउँला कि नआउँला भन्नेमा बजगाई आश्वस्त हुन सकेको देखिदैंन । राप्रपाकी बजगाइले जिते कतै सधै झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिदेललाई छोडनु परेझै यो प्रदेशसभा क्षेत्र पनि सधै राप्रपालाई नै छोड्नु पर्छ कि भन्ने एक किसीमको हल्लाले पनि एमालेजन शंशकित छन । श्यामबीरलाई पनि मेचीनगरका बडा बाट आफ्नै पार्टी माओवादीकैै मत कतै अन्र्तघात हुने हो कि भन्ने कुराले पिरोलेको देखिन्छ । मेचीनगरका वडाहरुमा माओवादीको राम्रै जनाधार रहेको स्थानीय तहको चुनावको परिणामले जनाउँछ । श्यामबिरलाई आफ्नै पकड रहेको वडाको मत सुरक्षित गर्ने पहिलो चुनौति छ ।
समग्रमा एमाले र काँग्रेस दुबैको उम्मे द्वारी नरहेकाले झापा क्षेत्र नं १ को प्रदेशसभा २ मा कसले बाजी मार्ला भन्ने अनुमान सहजै लगाउन गाह्रो छ । यस क्षेत्रमा २०७४ सालको प्रदेशसभा चुनावमा एमाले माओवादी गठवन्धनका उमेद्वार गोपालचन्द्र बुढाथोकीले १७ हजार ८ सय ३९ मत ल्याइ विजयी हुँदा काँग्रेसका उमेद्वार असोककुमार पोखरेलले ९ हजार ९ सय ७८ मत पाउनु भएको थियो ।