झापा,कार्तिक २३ । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् ।
बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ समक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
विगतमा जितेर गएका उम्मेद्वार फर्केर नआएकाले हेल्दुबारी विकासमा पछि परेको स्थानियले गुनासो गरेका छन ।
स्थानीयका मागलाई सुन्दै प्रदेशका उम्मेद्वार तामाङले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।
साविक ज्यामिगरगढी गाविस हाल मेचीनगर–१५ वडाको विकासको खाका बनाएर तत्कालै स्वास्थ्य, शिक्षा, रोजगारीसँगै सुकुम्बासी समुदायको उत्थानका लागि कार्यक्रम ल्याइने उहाँको भनाई छ ।
घरदैलो अभियानका क्रममा उम्मेद्वार तामाङले निलकोठी, लालझोडा, खवास गाउँ, गाइनबारी, रघुविरबारीका मतदाताको गुनासो सुन्नु भएको थियो । यस्तै, तामाङले मेचीनगर–१० धुलाबारी क्षेत्रमा पनि आजनै मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो ।
यस्तै, झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले आज पनि मतदाता भेटघाटलाई जारी राख्नुभएको छ । निरन्तर घरदैलोमा रहनुभएका शर्मा र लिम्बूले आज भद्रपुर–१०, मेचीनगर–१४, मेचीनगर–१०, मेचीनगर–९, मेचीनगर–११ का मतदातासँग भेटघाट गर्नुभएको हो ।