झापा, कार्तिक १८ । निर्वाचनको मिति नजिकिदै जाँदा झापा क्षेत्र नं १ मा चुनावी सरगर्मी ह्वाक्तै बढ्दै गएको छ । उमेद्वारहरुले मतदाताहरुसँगको घरदैलो अभियान तीब्र पारेका छन् । झापा क्षेत्र नं १ मा १ लाख २० हजार ३ सय ७५ जनामतदाता रहेका छन् । मेचीनगरको १५, बुद्धशान्तिका ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० गरि कूल २१ वडा रहेकामा मेचीनगर वडा नं ६ मा सर्वाधिक ११ हजार ६ सय ९३ जनामतदाता रहेका छन् ।
अहिले उमेद्वारहरुले टार्गेटको वडा पनि वडा नं ६ नै भएको छ । सर्वाधिक मतदाता, उमेद्वारहरुको होम टाउन वडा, गत स्थानीय तहको निर्वाचनमा उथुलपुथुल खालको मिश्रित निर्वाचन परिणाम, सहरी इलाका, जातीय मतदाताको प्रभाव आदि कारणले उमेद्वारहरु यस वडामा बढी केन्द्रीत भएका हुन् । मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस तथा एमालेका उमेद्वारहरु दैनिक यस वडामा एक पटक पुग्ने गरेका पाइन्छ ।
गत स्थानीय तहको चुनावमा मेचीनगर वडा नं ६ को वडा अध्यक्षमा काँग्रेसका ललितबहादुर तामाले ३९६९ मत पाउँदा एमालेका बालकृष्ण थापाले २२२४ मत मात्र पाएका थिए भने अन्य बाँकी ४ सदस्यमा एमाले विजयी भएको थियो । वडा अध्यक्षमा १७४५ मतान्तरले काँग्रेसले जितेको वडामा काँग्रेसका मेयरका उमेद्वार इन्द्र बुढाथोकीले २८६४ मत पाउँदा एमालेका मेयरका उमेद्वार गोपाल बुढाथोकीले २९३३ या ५७ मत बढी पाएका थिए । उपमेयरमा पनि एमालेले गठवन्धन उमेदवार भन्दा ३९६ मत बढी पाएको थियो । यस वडामा राप्रपाले वडा अध्यक्षमा १९१ मत ल्याएको थियो । काँगे्रसलाई माओवादीको साथ थियो । २०७५ सालको स्थानीय तहको चुनावमा काँग्रेसका ललितबहादुर तामाले एमालेका राजु पोखरेललाई २ मतको झिनो मतान्तरले हराउँदै विजयी भएका थिए ।
यसरी सरसर्ती स्थानीय तहको मत परिणामलाई आधार मानेर हेर्ने हो भने वडा नं ६ कुन पार्टीको आधार इलाका हो भनेर सोझै अनुमान लाउन गाह्रो छ । शहरी बस्ती रहेको यस वडामा काँकरभिट्टा बजार, मेची डाँडा, नकलवन्दा, बरमेली टोल, प्रगति टोल, रमाइलो गाँउ, भानु टोल, पुरानो भन्सार, शान्तिगाँउ लगायतका ठाँउहरु पर्दछन् । यो वडा प्रदेश क का काँग्रेस र एमालेमा दुबै उमेद्वारको होम टाउन भएको वडा पनि हो । काँग्रेसका गोपाल तामाङ र एमालेका रविन कोइराला यसै वडाका स्थानीय बासिन्दा हुन । स्थानीय तहको चुनावमा यस वडामा पार्टी भन्दा नि लोकप्रिय तथा सक्षम उमेद्वार हेरेर मतदाताले मत प्रकट गरेको देखिन्छ । यस हिसाबले पनि वडा नं ६ सबै उमेद्वारको लागि भर र डर दुबै हिसाबले महत्वपुर्ण रुपमा लिएको पाइन्छ ।
यस वडामा तामाङ, राइ लिम्बु, गुरुङ लगायतका जातीय समुदायको बाहुल्य छ । नेकपा एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेल जातीय भन्दा पनि उमेद्वारको भिजन, नीति तथा कार्यक्रमले यस वडाका मतदाता बढी प्रभावित हुने बताउँछन् । पोखरेलले रविन कोइरालाको लोकप्रियता तथा स्थानीय पनि भएकाले एमाले उमेद्वारले ५ सय मतले लिड गर्ने दाबी गर्छन् । यता नेपाली काँग्रेसका नगर सभापति शुवेस पनेरु प्रदेश उमेद्वार गोपाल तामाङको स्थानीय वडाको र संघीय उमेद्वार विश्वप्रकाश शर्मा यसै क्षेत्रको लोकप्रिय उमेद्वार भएकाले १५ देखि २ हजार मतान्तरले काँग्रेसका उमेद्वार अघि रहेको दाबी गर्छन् । यस वडामा संघमा विश्वप्रकाश र प्रदेशमा रविन कोइराला भन्ने एक किसीमको हल्ला समेत बजारमा फिजाइएको सुनिन्छ । काँग्रेसले उक्त हल्ला एमालेले चलाएको आरोप लगाएको छ भने एमाले नगर अध्यक्ष पोखरेल हामीवाट यस्तो हल्ला नफिजाइएको भन्दै जो कमजोर उमेद्वार छ उसैले यस्तो प्रोपोगण्डा फिजाएका हुनसक्ने बताउँछन ।
लोकप्रिय मतका साथ विजयी भएका वडा नं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ विश्वप्रकाश शर्मा तथा गोपाल तामाङ दुवै स्थानीय तथा लोकप्रिय उमेद्वार भएकाले आफुले जितेको मतान्तर बरावरको मत काँग्रेसका उमेद्वारले लिड गर्ने बताउँछन् । उनी एमालेको संघीय उमेद्वार नयाँ अनुहारको हुनु र विश्वप्रकाश शर्माको राजनीतिक उचाइ र लोकप्रियताको अधिक फाइदा लिन सक्ने बताउँछन् । नेकपा एमाले ६ नं वडा कमिटीका अध्यक्ष प्रितम काफ्ले शहरी क्षेत्र तथा सघन मतदाता रहेको ठाँउ भएकाले कामको मुल्याकनको आधारमा यस क्षेत्रमा मतदाता प्रभावित हुने बताए । उनले प्रदेश उमेद्वार रविन कोइराला यहिको स्थानीय भएको र पहिला गरेको कामको आधारमा त्यसको फाइदा एमालेले लिने दाबी गर्छन् । उनले पार्टीको विशेष परिस्थिति सृजना भएका कारण संघमा अग्नि खरेललाई पार्टीले टिकट दिएको बताउँदै मतदातामा रविन कोइरालालाई संघमा टिकट नदिएकोमा असर कार्यकर्तामा नदेखिएको जिकिर गर्छन् । उनले यस बडाको मत दुवै पार्टीका उमेद्वारमा हाराहारी आउने समेत दाबी गरे ।
वडा नं ६ नेपाली काँग्रेसका वडा सभापति पारस सुवेदी हिजो प्रतिनिधि सभा सदस्य भइसकेका रविन कोइराला प्रदेश सभा सदस्यमा चुनाव लडिरहेकोमा जनतावाट आशा र विश्वास गुमाइसकेको बताउँछन् । उनले मतदाताले उमेद्वारका सम्भावना हेरेर विश्वास गर्ने हो, हिजो संघको सांसद आज हैसियत गुमाएर प्रदेशमा चुनाव लड्दै छ भने जनताले के आशा गर्ने ?भन्दै जनताले मुल्याकन गर्ने बताउँदै त्यसको फाइदा काँग्रेस उमेद्वारलाई हुने दाबी गर्छन् । काँग्रेसका प्रदेश प्रतिनिधि रविन भट्टराई शहरी क्षेत्र, बौद्धिक तथा सचेत मतदाताले यसपटक विवेक प्रयोग गर्ने बताउँदै स्थानीय तहको चुनावमा जस्तो काँग्रेसमा अन्र्तघात नहुने बताए ।
चुनाव लडिरहेका पार्टीका कायकर्ताले आफ्ना उमेद्वारको बचाउ गर्दै बढी मत ल्याउने दाबी गरिरहे पनि झापा क्षेत्र न. १ को चुनावमा सर्वाधिक मतदाता रहेको मेचीनगर वडा नं ६ उमेद्वारले सर्वाधिक महत्व दिएको साथै डर र भर दुवै उत्तिकै भएको टार्गेटको वडा भने पक्कै बनेको छ ।