झापा,कार्तिक १७ । झापामा निर्वाचनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
मसिंर ४ को निर्वाचनका लागि आवश्यक सामाग्री,सुरक्षा व्यवस्था तथा जनशक्ति परिचालनको कामलाई तिव्रता दिइएको हो ।
जिल्ला निर्वाचन कार्यालय झापाले बिहीबार भद्रपुरमा आयोजना गरेको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा निर्वाचन लक्षित उच्च सुरक्षा सतर्कता, आचारसंहिता उल्लङ्घन रोक्न जनशक्ति परिचालन लगायतका विषयमा जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन बिरोधी गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च बनाइएको जानकारी दिनुभयो । २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेकोमा २७१ केन्द्र अति संवेदनशील, ३८१ केन्द्र संवेदनशील र ११४ केन्द्र सामान्य रहेको प्रजिअ रिजालले बताउनुभयो ।
जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत मधु पोखरेलले त्यस्तै निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि पनि जिल्लाभर जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसीकुमार नेपालले कैदीबन्दीका लागि झापा कारागार भद्रपुरमा एउटा र प्रहरी, कर्मचारी लगायतका अन्य नागरिकका लागि सदरमुकाममा अर्को मतदान केन्द्र तयारी गरिएको बताउनुभयो ।
कार्यक्रममा नमुना मतदान समेत गरिएको थियो ।