देशैभर वाही वाही पाईरहँदा पनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं १ का मतदाताले दुइ पटकसम्म पनि चुनेनन् । २०७० सालको संविधान सभाको दोस्रो चुनावमा शर्मा एमालेका रविन कोइरालासँग पराजित भए भने २०७४ सालको प्रतिनिधि सभाको चुनावका एमाले–माओवादी वाम गठवन्धनका तर्पmवाट माओवादी उमेद्वार राम कार्कीसँग पराजित हुन पुगे । आगामी २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा उनले एमाले स्थायी समितिका सदस्य अग्नि खरेललाई प्रतिद्धन्दी पाएका छन् । राष्ट्रिय छवि बनाएका शर्माले के यसपटकको चुनावमा बाजी मार्लान त ! अहिले आम चासो र खुल्दुली जनजनको मनमा छ ।
२०७० र २०७४ सालको भन्दा अहिले परिस्थिति केहि फरक छ । २०७० सालमा उनी राजनीतिक हिसाबले संघर्ष गर्दै थिए भने २०७४ सालमा काँग्रेसका केन्द्रीय सदस्य थिए र अहिले उनी पार्टीको महामन्त्री बनेका छन् । उनी पहिला पार्टीको प्रखर बक्ताले चिनिन्थे भने अहिले शिर्ष नेता मानिन्छन् । समयको गति सँगै राजनीतिक उचाई हासील गरेका शर्माले तीन पटकमा झापा क्षेत्र नं १ मा प्रतिद्धन्दी पनि तीनै थरी पाएका छन् । २०७० मा मेचीनगरका तत्कालिन मेयर रविन कोइरालासँग छ सय ८९ मतले पराजित हुँदा २०७४ सालमा बाम गठवन्धनका साझा उमेदवार राम कार्कीसँग दूई हजार ८ सय ८३ मतले पछि परे । अहिले उनको प्रतिस्पर्धा एमालेकै तर नयाँ अनुहार अग्नी खरेलसँग हुँदैछ । विकसीत राजनीतिक घटनाक्रमसँगै विश्वप्रकाश शर्मालाई अहिले चुनाव जित्न तुलनात्मकरुपमा केहि सहज मानिएको छ । यद्यपी, उनी अझै पनि ‘पूर्ण सुरक्षित जोन’मा भने नरहेको राजनीतिक पण्डितहरु बताउँछन् ।
२०७० सालको एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उनी स्थानीय उमेद्वार रविन कोइरालासँग थोरै मतान्तरले हार्दा २०७४ मा बाम गठवन्धनको साझा उमेद्वार राम कार्कीसँग मतान्तर केहि फराकिलो भयो । तर शर्माले झापा क्षेत्र नं १ मा समानुपातिकमा नेपाली काँग्रेस पार्टीले पाएको मतभन्दा मत धेरै पाए, यद्यपी उनी दोस्रो पटक पराजित भए । अहिले परिस्थिति विल्कूल फरक छ । २०७४ सालको बाम गठवन्धनको एक सारथी अहिले उनीसँग छ । २०७४ को एमाले र माओवादीको बाम गठवन्धन अहिले फुटेर काँग्रेस माओवादीको सयुक्त लोकतान्त्रिक बाम गठवन्धनमा परिणत भएको छ । यस हिसाबले उनलाई अहिले तुलनात्मक हिसाबले सहज मान्न सकिन्छ । तर उनको लागी चुनौती २०७० सालमा बाम गठवन्धनवाट माओवादी पार्टीको उमेद्वार थिए भने अहिले यस क्षेत्रमा जनाधर बलियो भएको एमालेकै उमेद्वारको सामना गर्नुपरेको छ । यसमा पनि प्रतिकूलता भित्रको अनूकुलता मानिए झै एमालेको उमेद्वार स्थानीय नहुँदा शर्मालाई राहत मिलेको एकथरी राजनीतिक विस्लेशकहरु बताउँछन् । झापा गौरादहका अग्नी खरेललाई एमालेले उमेद्वार बनाउँदा उनलाई ‘टुरिष्ट’ उमेद्वारको ट्याग लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता भएका खरेलको पहिलो रोजाई झापा क्षेत्र नं २ थियो । तर त्यहाँ एमाले प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेले टिकट पाएपछि उनी एकाएक क्षेत्र नं १ मा धकेलिएका छन् । राजनीतिक वृतमा खरेलको क्षेत्र नं १ को आगमनलाई विभिन्न अड्कलबाजी गरिन्छ । एमाले झापा क्षेत्र नं १ बाट एकल सिफारिस भएका रविन कोइराला एमाले भित्रको केपी ओलीको खेमाको नभइ झलनाथ खनालसँग निकट मानिने भएकाले ओलीले रविन कोइरालावाट टिकट खोसेको एकथरि अनुमान लगाइन्छ भने अर्कोथरि अनुमान एमालेले झापामा राप्रपासँग गठवन्धन गर्दा झापा क्षेत्र न १ को प्रदेश ‘ख’ राप्रपाको भागमा परेकाले समिकरण विग्रीएको बताइन्छ । स्मरणियः कुरा के छ भने झापा क्षेत्र नं १ को प्रदेश ‘ख’ वाट एमालेले विष्णु प्रसाईको श्रीमती लता प्रसाईलाई चुनाव नलडाए रविन कोइरालालाई धोका हुने एकथरि एमालेजनमा डर भएकाले रविन कोइरालालाई प्रतिनिधि सभामा टिकट नदिएको चर्चा परिचर्चा हुने गरेको छ । २०७४ सालको स्थानीय तहको चुनावमा एमालेले विष्णु प्रसाईलाई मेचीनगरको मेयरमा चुनाव लड्दा रविन कोइरालाको असहयोगले चुनाव हारेको आरोप रविन कोइरालामाथि एमालेले लगाउँदै आएको छ । रविन कोइरालालाई संघमा टिकट दिँदा एमाले पार्टी भित्रको राजनीतिक सन्तुलन मिलाउनको लागि लता प्रसाईलाई प्रदेश ‘ख’ मा टिकट दिए बल्ल विष्णु प्रसाईको साथ रविन कोइरालाले पाउने एमालेजनको बुझाइ रहेको बताइन्छ । तर प्रदेश ‘ख’ राप्रपाले पाएपछि एकाएक अग्नी खरेलको आगमन झापा क्षेत्र नं १ मा भएको अड्कल लगाइएको छ ।
खरेल क्षेत्र नं १ बाट लडिरहँदा काँग्रेस महामन्त्री तथा काँग्रेसका उमेद्वार विश्वप्रकाश शर्मालाई घाटा नाफा बराबर रहेको अर्को बुझाइ छ । खरेलको आगमनले एमाले क्षेत्र नं १ मा एमालेलाई एकठिक्का पारेको घाटा शर्मालाई छ भने स्थानीय रविन कोइराला भन्दा अर्को क्षेत्रको मान्छे आएर लड्दा उमेद्वारको मतदातासँग सम्बन्ध कम हुने फाइदा शर्मालाई हुने देखिन्छ । शर्माको लागि महत्वपूर्ण चुनौति २०७४ सालमा एमालेको उमेद्वार हुँदा एमालेको क्रस भोट पाएका शर्माले अहिले त्यो मत आउँला कि नआउँला भन्ने डर छ । अहिले गठवन्धनवाट माओवादीको भोट आफुलाई आउने र एमाले फुटेको फाइदा पनि हुने हिसाब निकाल्दा अंक गणित आफुतिर पल्लाभारी भएको बुझाई शर्माको छ । तर उनलाई आफ्नै पार्टी भित्रको अन्र्तघातको ठूलो डर पनि साथसाथै छ । स्थानीय तहको चुनावमा काँग्रेसमा आन्तरीक किचलोका कारण मेचीनगरको मेयर फराकिलो मतान्तरले पराजित भएको तात्तातो पिडा लगत्तै उनी अर्को चुनावको संघारमा छन् । झापा क्षेत्र नं ३ वाट चुनाव लडिरहेका काँग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्षधरवाट अन्र्तघातको डर उनमा छ । सिटौला खेमा परिवर्तन गरि राजनीतिक स्वार्थ पुरागर्न आफ्नो खेमामा आएकाहरु मित्रु भएर आएका छन् कि बैरी भएर आएका हुन् भन्ने अर्को त्रास पनि शर्मामा विंध्वमान छ । यावत परिस्थितिका बावजुद झापा क्षेत्र नं १ का मतदाताले विश्वप्रकाशलाई एकपटक चुनेर पठाऔनत भन्ने अझै पनि चोक, चौतारा, चियापसलमा सुनिने गरेको अन्तरङ्गको मनोभावनाले उनमा आत्मविश्वास भने बढेकै देखिन्छ ।
सरल स्वभाव, कपास र नौनी जस्तै नम्र बोली, साहित्यमा पनि उत्तिकै दख्खल राख्ने विश्वप्रकाश शर्माको लागि अर्को चुनौति थपिएको नयाँ मतदाता पनि हुन । राप्रपासंग गठवन्धन गरी चुनावमा होमिएको एमालेले २०७४ सालको चुनाव पछि थपिएका नयाँ मतदाता आफनो पक्षको वढी रहेको दाबी गरेको छ । एमालेको दावीलाई स्थानीय तहको चुनावमा मेचीनगरमा एक्लै प्रतिस्पर्धा गर्दा पनि एमालेले पाएको मतले केही हदसम्म पुष्टी पनि गरेको देखिन्छ । २०७४ सालको स्थानीय तहको चुनावमा एक्लै लड्दा मेयर जितेको कांग्रेसले २०७९ सालको चुनावमा माओवादीको साथ पाउँदा पनि लज्जास्पद हार व्यहोरेको थियो । झापा बसाइँ सराई आउनेहरू अधिकांश इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, तेह्रथुम, भोजपुर लगायतका जिल्लाबाट आउने र ती जिल्लाहरू एमाले जनाधार बलियो भएका जिल्लाहरू मानिन्छन् । यसले पनि कांग्रेस महामन्त्री शर्माको अंकगणित हलउन्मुख हुन सकेको देखिदैन । मुख्य गरेर झापा कांग्रेसको कार्यबाहक सभापति समेत बनेका कृष्ण प्रसाद सिटौलाका विश्वास पात्र केशबराज पाण्डे र उनका समुह स्थानीय तहको चुनावमा जस्तै गरी भिलेन बन्दिने हुन कि भन्ने सर्वाधिक डर को सामना गरिरहेका शर्मालाई समग्रतामा २०७४ सालको प्रतिस्पर्धा भन्दा सहज अवस्थामा रहेको आंकलन भने जतासुकै छ । लोकतान्त्रिक बाम गठवन्धन, व्यक्तिगत राजनीतिक उच्चता, एमालेको फुट, नयाँ तथा टुरिष्ट ट्याग लागेका प्रतिस्पर्धी र जनमत पाउँदा पनि ५ बर्ष एमालेले सरकार चलाउन नसकेकाले मतदाताको फेरिएको सेन्टिमेन्स् लगायतका आदी कारणले शर्माको सम्भावनालाई बलियो बनाएको प्रशस्त आधारहरु भने देखिन्छन् । झापा क्षेत्र नं ५ मा विकास र समृद्धिको हिसाबले राजनीतिक हाई प्रोफाइल व्यक्तित्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउँदा समग्रतामा आम जनताले विकासको अवसर बढी पाए झैं विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री र काँग्रेसको भावी पार्टी सभापतिको प्रचुर सम्भावना भएको नेता भएकाले चुनाव जिते ठूलो बजेट झापा क्षेत्र नं १ को विकासमा पार्नसक्ने र त्यसको फाइदा सम्पूर्ण मतदाताले पाउने हुँदा शर्मालाई एमाले र राप्रपाको ठूलो मत क्रस हुने सक्ने आधारहरु पनि उत्तिकै देखिन्छ ।
झापा क्षेत्र नं १ मा मेचीनगरका १५ वडा बुद्धशान्तिका ४,५,६,७ र भद्रपुरका ९ र १० गरी २१ वडाहरूमा कुल एक लाख २० हजार तीन सय पचहत्तर जना मतदाता रहेका छन ।