झापा,कार्तिक १३ । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरु घाटमा पुग्ने क्रम सुरु भएको छ ।
व्रतालुहरुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने भएकाले नदी, तलाउ, पोखरी, जलासयमा तयार पारिएको घाटमा बिहानैबाट मानिसहरुको उपस्थिती बाक्लिएको छ ।
तराई क्षेत्रमा विषेश उल्लासका साथ मनाईने छठ पर्वका लागि तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ ।
जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड लगाएत पोखरीलाइ सजिसजाउ पारिएको छ ।
त्यस्तै झापाको मेची, निन्दा,अदुवा,कन्काइ माइ लगायतका नदीहरु पनि विशेष रुपमा सजाइएको छ । आज रातभर जाग्राम बसी भोली उदाँउदो सुर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व सकिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठमा सूर्यदेवको आराधना गरिन्छ ।
छठ पर्वको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । त्यस्तै भोली प्रदेश १ मा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।