कार्तिक १३,झापा । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र ढुवानीको काम दुर्गम जिल्लाहरु बाट सुरु गरेको छ । पहिलो चरणमा आज बाट कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्ष तर्फको मतपत्र ढुवानी हुने आयोगले जानकारी दिएको छ ।
आयोगले प्राथम्कितामा राखेर दुर्गम जिल्लाहरु बाट प्रत्यक्षतर्फको मतपत्र ढुवानीको कार्य सुरु गरेको हो । बाँकी मतपत्र छपाइको काम पनि भइरहेको आयोगले जनाएको छ। यसैबिच आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ। प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइको काम सकिएको हो ।
प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । त्यस्तै समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको मतपत्र र ५१ जिल्लामा निर्वाचन सामग्री ढुवानीको कार्य भैरहेको पनि आयोगले जानकारी दिएको छ ।
मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको हो ।
गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा भने निर्वाचन सामग्री ढुवानी गरिसकेको आयोगले सञ्चालनमा ल्याएको इ बुलेटीनमा उल्लेख गरिएको छ ।