झापा क्षेत्र नम्वर एकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पक्षमा जनमत देखिन थालेको छ । संविधानले कुनै पनि नागरिकलाई देशको कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेद्वार बन्न रोकेको त छैन तर नेकपा एमालेले क्षेत्र नै नचिनेका उम्मेदवार अग्नि खरेललाई झापा एकमा उठाएपछि शर्माको पक्षमा जनलहर देखिन थालेको हो । पाहुना उम्मेद्वारका कारण सबैभन्दा पीडित यो क्षेत्रका जनता बिगतका गल्ती नदोहोर्याउन पार्टी भन्दा माथि उठेर शर्मालाई भोट हाल्न आतुर छन । यद्यपि एमालेमा केही प्रतिबद्ध पार्टी कार्यकर्ता भने खरेललाई क्षेत्र नम्वर एकका भूगोल देखाउन र गाँउ ठाँउ चिनाउन घर दैलो अभियानमा व्यस्त छन् । कार्यकर्ताले टिपेर दिएका केही खोलाका पुल र बाटोको नाम घोकेर खरेल चुनावी मैदानमा उत्रिएका छन ।
आत्मविश्वासी शर्मा
काँग्रेस महामन्त्री शर्मा पनि निर्वाचन क्षेत्रमा व्यस्त देखिएका छन । पार्टीको घोषणा पत्र बनाउने समेत जिम्मेवारी पाएका शर्मा यसपाली निकै आत्मविश्वासी देखिन्छन ।
चुनाव लडे झापा एकबाटै लड्ने नत्र कतैबाट पनि नलड्ने भनेर घोषणा गरेका शर्माका प्रतिस्पर्धीका रुपमा काठमाण्डौ २ र झापा २ मा चाहना राखेर नपाएपछि एमालेका खरेल धकेलिँदै आइपुगेका छन ।
दुई दुई पटक पराजय हुँदापनि झापा एकको माटोप्रति उनको समर्पण हेर्दा लाग्छ झापा १ को भविष्य शर्मासँग मात्र जोडिएको छ । प्रेम एकातिर र घरजम अर्कातिर गर्ने पक्षमा छैन भनेर बारम्बार भन्ने गरेका शर्माले अन्ततः आफ्नो प्राथमिकता झापा क्षेत्र नम्वर एक नै भएको पुष्टि गरे । दुई पटकको ट्रयालमा फेल भए पनि उनै जनताको सेवामा मरि मेटेका शर्मा तेश्रो ट्रायलमा जनताले आफुलाई चिन्ने र पास गराउनेमा ढुक्क छन । हुन पनि झापा क्षेत्र नम्वर एकका जनताले ड्राइभिङ लाइसेन्स दिएको खण्डमा त्यही लाइसेन्स शर्माका लागि कालान्तरमा मुलुक हाँक्ने आधार बन्न सक्छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई धेरै शुभेच्छुकको सल्लाह छ, तेश्रो पटक चुनाव हार्ने छुट तिमीलाई छैन । पार्टीका निर्वाचित महामन्त्री हौ, देशभर तिमी लोकप्रिय छौ । राम्रो क्षेत्र चुनेर उठ्नु ।
त्यही भएर शर्मालाई काठमाण्डौ या अन्य कुनै सुरक्षित क्षेत्रवाट चुनाव लड्न आग्रह नगरिएको पनि होइन । झापा १ ले कथंकदाचित शर्मालाई विश्वास गर्न नसके भोली पार्टी हाँक्न सक्ने ताकत भएको,महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना भएको एक गतिशील युवा नेताको राजनीति के होला भन्ने डर देशभरका शुभेच्छुकहरुमा हुनु स्वभाविकै हो । देशभरबाट यस किसिमका शुभेच्छा दिनेहरुले झापा क्षेत्र १ कै मतदाताहरुले विश्वप्रकाशलाई चिन्न नसकेको गुनासो पनि गर्ने गरेको छन । तर, यसपाली झापा एकका जनताले शर्मालाइ हृदयबाटै साथ दिने संकेत देखिएको छ ।
मेचीनगरका छोरा विश्वप्रकाश
विश्वप्रकाश झापा यही क्षेत्रमा जन्मे,यही क्षेत्रमा हुर्के । यहीँका विद्यालयबाट क,ख चिने । एसएलसी पनि यहीँको धुलावारी स्कूलबाट गरे । उनको राजनीतिक यात्रा यही क्षेत्रबाट शुरु भयो । राजनीति गर्ने क्रममा यो क्षेत्रका प्रत्येक घर घरमा पुगेका छन । उनले यो क्षेत्रका विपन्नका आवाज सुनेका छन । उनीहरुको पीडामा मल्हम लगाएका छन् । कोरोनाको समयमा मेचीनगरकै दुर्गम मानिने वडा नम्वर ३ को सेङलेङटारसम्म चिकित्सकसहित औषधि लिएर पुग्ने शर्माले केही समय पहिला डेगुं नियन्त्रणका लागि पनि अभियान चलाएका थिए ।
राजनीति मात्र होइन सामाजिक सेवा पनि उनको अगुवाइमा झापासहित देशव्यापी भएको छ । शर्माकै परिकल्पनामा आएको मेची अभियानले पार्टी भन्दा माथि उठेर समाजसेवा गरिरहेको छ । करेन्ट लागेर दाहिने हात काटिएर असहाय बनेकी एकल महिला मेचीनगर ९ की देवीमाया मेचे र तीन तीन पटक घर आगलागी भएकी मेचीनगर १४ कि लख्खी मर्डीको लागि घर बनाउने काम सम्पन्न गरेको अभियानले मेचीनगर २ का केवल निरौलाको घर जलेपछि अहिले नयाँ घर बनाउने काम गरिरहेको छ । देवी माया मेचे शर्माले नै किनेर दिएको सात धुर जग्गामा ६ लाख २० हजार रुपैयाँको लागतमा चार कोठे टिनको छानो र इँटाको पर्खाल भएको चारकोठे पक्की घरमा अहिले बसिरहेकी छिन ।
अभियानले झापाकै शिव सतासीमा बिपन्न तारा शेर्माका लागि घर पनि बनाएको छ । विश्वप्रकाशले मेरो जरा झापा क्षेत्र नम्वर एकमा छ भन्नुको अर्थ पनि यही हो ।
झापामा मात्र होइन, यो अभियानले भूकम्पको बेला काभ्रेमा दुइटा स्कूल, ६८ बटा टहरा, रामेछापामा दुईवटा स्कूल, दोलखामा दुइवटा स्कूल पनि बनाएको थियो ।
विश्व प्रकाशको समाज सेवाको अर्को प्रेरक नमूना हो, सन्थाल जातीको छोरीलाई पढाउनु । कानून पढ्न चाहना राखेर पढ्न नपाएकी भद्रपुर १० की बिपन्न परिवारकी छोरी शिसम मार्डी शर्माकै पहलमा अहिले काठमाण्डौमा कानूनको उच्च शिक्षा लिँदै छिन ।
पिता परशुराम भण्डारीसहित शान्तिनगरका भण्डारी परिवारले राजनीति,शैक्षिक र समाजसेवामार्फत गरेको सेवा पनि यही क्षेत्रमा रहेको छ । यिनै सेवाहरुको उत्तराधिकार हुने व्यक्तिका रुपमा शर्माले झापा क्षेत्र नम्वर एकको माटोलाई ढोग्नु, दुई पटक पराजित भएर पनि उनै मतदाताको घर आँगनमा विश्वास र भरोसा सम्झेर जानु क्षेत्र नम्वर एकका जनतामाथि शर्माले गरेको ठूलो भरोसा हो । शर्माको यो कदमलाई झापा क्षेत्र नम्वर एकका जनताले कुनै आग्रह र पूर्वाग्रह नराखी आफनै परिवारको सदस्यको रुपमा लिनु पर्ने देखिन्छ । झापा जिल्लावासीको जमघटमा शर्माले पुलकित हुँदै भन्ने गरेका छन्,म यहाँ काँग्रेसको महामन्त्री होइन,तंपाईहरुको छोरा,दाजु भाइ हुँ ।उनका यी अभिव्यक्तिले एक नम्वर क्षेत्रका जनतालाइ उनले परिवार सम्झेको प्रतीत हुन्छ ।
झापा एकको सम्वृद्धि लागि एक पटक शर्मालाई मौका
देशमै सचेत नागरिकको दर्जा पाएका झापाली जनताको यो पटक अग्नि परीक्षा हुँदैछ । देशको र पार्टीकै नेतृत्वतहमा पुग्न सक्ने पृष्ठभूमि तयार पारेका महामन्त्री शर्मालाई चुन्ने कि फगत स्थानीय निकायको भोटको डाटा हेरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न आफ्नै साथीको भाग खोस्न आएका एक पाहुना उम्मेदवारलाई भोट दिने ? क्षेत्र राम्ररी नचिन्ने पाहुना सासंद पाउनुको पीडा त्यो क्षेत्रलाई कति हुन्छ भन्ने उदाहरण यस अघि जितेर कहिले फर्केर नजाने एमालेकै देवि ओझा,राधाकृष्ण मैनालीको व्यवहारले प्रष्ट पार्छ ।
यो पाली पनि क्षेत्र नम्वर १ का जनताले ओझा या मैनालीको अर्को अवतार खोज्ने कि पार्टीभन्दा माथि उठेर सम्वृद्धिको वाहक यही जन्मीहुर्की बढेको विश्वप्रकाश खोज्ने ? यो यक्ष प्रश्न बनेको छ ।
काठमाण्डौको काटेश्वर, झापाको विर्तामोड र गौरादहमा घर भएका एमाले उम्मेदवार खरेल अर्को पटक झापा २, झापा ५ वा काठमाण्डौ २ मध्ये कुनै क्षेत्रबाट उम्मेदवार बने आश्चर्य हुने छैन । तर, विश्वप्रकाश शर्मा दुई दुई पटक पराजित भएर पनि यहीबाट उठिरहेका छन । अरु सुरक्षित क्षेत्रबाट आएका अफरलाई सम्मान गर्दै झापा एककै माटो सुम्सुम्याई रहेका छन् । उनी न हिजो कतै गए,न आज गए न भोली जान्छन । उनी निन्दा र टिमाइको पानी खाएर हुर्केका देश नै हाँक्न सक्ने आधार बनाउँदै गरेका विलक्षण प्रतिभा भएका युवा नेता हुन ।
त्यसैले अव तेश्रो पटकको निर्वाचनको निर्विकल्प र अझ भनौ साझा उम्मेदवार भनेकै विश्वप्रकाश शर्मा हुन र हुनुपर्छ । एक पटक उनलाई अवसर दिनुपर्छ । उनले क्षेत्र नम्वर एकमा शुरु गरेको बिकासका दीर्घकालीन परियोजनाहरुलाई साकार पार्न पनि शर्मा साझा उम्मेद्वारको रुपमा आउनु पर्छ । एक पटक उनले अवसर पाए भने झापा क्षेत्र नम्वर एकमा अवसरको बाढी आउने छ । अव आउने दशकभित्र पार्टी र देश नै हाँक्ने लय समातेका नेता शर्मा क्षेत्र नम्वर एकले पाउनु भनेको त्यस क्षेत्रका जनताकै लागि गौरवको बिषय बन्नु पर्छ ।