झापा, कार्तिक ५ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मतपत्र समेत निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा फरक फरक हुने प्रत्यक्ष तर्फको मतपत्र छपाईको काम भने निरन्तर जारी रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले झापा क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र पनि सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको झापा १ को प्रतिनिधिसभा सदस्यको वास्तविक मतपत्रमा १५ वटा चुनाव चिन्ह रहेका छन । जतिजनाले उम्मेद्वारी दर्ता गराएका छन त्यति मात्रै चुनाव चिन्ह राखेर यस पटक मतपत्र बनाइएको आयोगले जनाएको छ । झापा १ को मतपत्रको पहिलो लहरमा क्रमश सुर्य, रुख, छाता र साइकल चुनाव चिन्ह छन ।
त्यस्तै दोस्रो लहरमा लौरो, गोलाकार भित्र शंख, कुखुराको भाले र दाप सहितको खुकुरी चुनाव चिन्ह छन । त्यसैगरी तेस्रो लहरमा घर, कमलको फुल, तारा र गोलाकार भित्र घण्टी चुनाव चिन्ह छन भने अन्तिम लहरमा महिला, क्रस खुकुरी र मुडा चुनाव चिन्ह छन ।
त्यसैगरी झापा १ को प्रदेशसभा तर्फ १ को मतपत्रमा जम्मा ६ वटा चुनाव चिन्ह छन । जसमा पहिलो लहरमा सुर्य, रुख र छाता चुनाव चिन्ह छन भने दोस्रो लहरमा कम्प्युटर सेट, साइकल र कुखुराको भाले चुनाव चिन्ह छन ।
त्यस्तै प्रदेशसभा २ को मतपत्रमा जम्मा १० वटा चुनाव चिन्हहरु छन । पहिलो लहरमा गोलाकार भित्र हसियाँ हथौडा, छाता, हलो चुनाव चिन्ह छन । दोस्रो लहरमा दाप सहितको खुकुरी र साईकल छन । तेस्रो लहरमा कुखुराको भाले, घर र बस चुनाव चिन्ह छन भने अन्तिम लहरमा एउटा मात्रै चुनाव चिन्ह जेब्रा छ ।
झापा १ मा मेचीनगरका १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा र भद्रपुर नगरपालिकाका वडा नं. ९ र १० का एक लाख २० हजार ३७५ मतदाता रहेका छन ।