धुलाबारी, कार्तिक २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले धाँधली गर्न सक्ने भएकाले सचेत हुन आफ्ना कार्यकर्तालाई निर्देशन गर्नु भएको छ ।
झापाको धुलाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्ताको दुरुपयोग गरेर गठबन्धनले बुथ कब्जा गर्न सक्छ, बट्टा साट्न सक्छ, मत गणनामा धाँधली गर्न सक्छ एमालेका कार्यकर्ता सचेत हुनु ।’
सत्ता गठबन्धनका उम्मेद्वारहरुले देशभरि निर्वाचन आचारसंहिताको उल्लघंन गरेकाले त्यस्तालाई बिना सर्त कारबाही गर्न एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाका कार्यकर्ताले एमालेसंगको तालमेललाई इमान्दारिता पुर्वक पालना गर्ने बताउनु भयो । एमालेको चुनाव चिन्ह सुर्यमा मत हाल्न आफ्ना कार्यकर्तालाई लिङदेनले निर्देशन समेत दिनु भयो ।
एमालेका तर्फबाट झापा १ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अग्नि खरेलले झापामै जेल परेको व्यक्तिलाई टुरिष्ट भनेर प्रचार गरिएको प्रति आपत्ती पटक गर्नु भयो । वहाँले भावनाले राजनिति नहुने भन्दै विकाससंग जोडिएर आफुले काम गर्ने बताउनु भयो ।
धुलाबारीस्थीत पासङल्हामू स्मृति प्रतिष्ठानमा सम्पन्न सभामा झापा १ को प्रदेशसभा १ का एमाले उम्मेद्वार रविन कोइराला, प्रदेशसभा २ की राप्रपाकी उम्मेद्वार सविना बजगाई लगायतले आफुहरुलाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।
झापा १ संयुक्त चुनाव प्रचार प्रसार समितिका सचिव टिकाराम मगरातीले सञ्चालन गरेको कार्यक्रम एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।