झापा,असोज २८ । मसिंर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवारलाई समानुपातिकमा मात्रै समेटने प्रयास भएको छ । संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेकोमा प्रत्यक्ष तर्फ न्युन संख्यामा सिट दिएर दलहरुले समानुपातिक उम्मेदवारबाटै बढी प्रतिनिधित्व गराउने भएका हुन ।
प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी व्यवस्था नहुँदा दलहरूले महिलालाई टिकट दिन आनाकानी गर्ने गरेका छन । झापामा प्रतिनिधीसभाका लागि ८ र प्रदेशसभाका लागि ११ जना गरि जम्मा १९ जना महिलालाई मात्रै प्रत्यक्षको टिकट दिइएको छ । प्रतिनिधीसभा निर्वाचनका लागि ८ जना महिला उम्मेदवार रहेको भएपनि कुनै पनि प्रमुख राजनीतिक दलले महिलालाई प्रत्यक्ष तर्फ उठाएका छैनन् ।
झापाको पाँच वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस,नेकपा एमाले ,माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका मुख्य दलले महिलालाई प्रत्यक्ष तर्फको उम्मेद्वार बनाएका छैनन् । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले झापा क्षेत्र नम्बर १ मा पदममाया लिम्बु र क्षेत्र नम्बर २ मा रेश्मा चेमजोङलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले राधा थापालाई क्षेत्र नम्बर १ मा र ओममाया आङदेम्बेलाई क्षेत्र नम्बर ५ मा प्रत्यक्षको टिकट दिएको छ । त्यस बाहेक क्षेत्र नम्बर १मा केन्द्र कुमारी दाहाल ४ मा खुस्वु ओली तथा ५ मा कल्पना लावती र शान्ता अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन ।
यता प्रदेश सभा निर्वाचनमा पनि महिला उम्मेद्वार बनाउन प्रमुख दल उदासिन देखिएका छन । जम्मा ११ जना महिला उम्मेद्वार रहेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर १ को ख मा सबिना बजगाई लाई उम्मेद्वार बनाएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नम्बर १ को ख मा रमा मेचे र ५ को क मा सत्या कुमारी राजवशीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै जनता समाजवादी पार्टीले झापा क्षेत्र नम्बर १ को क मा मिरा कार्कीलाई उठाएको छ ।
मौलीक जरोकिलो पार्टीले सिता दुलाललाई क्षेत्र नम्बर १ को क तथा रोमा देवी निरौललाई २ को क मा उम्मेदवार बनाएको छ । यता राष्ट्रिय जनमुक्ति पार्टीले क्षेत्र नम्बर ४ को क मा संगीता लिम्बु नेम्वाङ्ग तथा पार्वती माङबुलाई क्षेत्र नम्बर २ को क मा उम्मेद्वार बनाएको छ।
प्रदेशसभा निर्वाचनको लागि ३ महिलाको स्वतन्त्र उम्मेद्वारी परेको छ । क्षेत्र नम्बर ५ को क मा लेखमाया श्रेष्ठ तथा इन्दीरा देवी दाहालकले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । त्यस्तै क्षेत्र नम्बर ५ को ख मा मधु थापा मगरको स्वतन्त्र उम्मेद्वारी परेको छ ।