झापा,असोज २९ । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत प्राप्त गरे पछि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको संख्या बढेको छ ।
२०७४ मा भएका प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा जम्मा १२ जनाको मात्रै स्वतन्त्र उम्मेद्वारी परेको झापामा यो पल्ट ४६ जनाको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि मात्रै २९ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएका छन । जबकी २०७४ मा यो संख्या मात्रै ७ रहेको थियो । त्यस्तै प्रदेशसभाको निर्वाचनका लागि १७ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ ।यस अघि २०७४ मा यो संख्या मात्रै ६ रहेको थियो ।
पाँच निर्वाचन क्षेत्र रहेको झापाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनको लागि ३ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । यो क्षेत्रमा नेपाली काँंगे्रस र माओवादी केन्द्रको गठबन्धनको तर्फबाट काँग्रेस महामन्त्रि बिश्वप्रकाश शर्मा,नेकपा एमालेको तर्फबाट स्थायी कमिटी सदस्य अग्नि खरेल लगायत चुनावी मैदानमा छन् ।
त्यस्तै क्षेत्र नम्बर दुइमा ५ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । यो क्षेत्रमा एमाले बाट स्थायी कमिटि सदस्य देवराज घिमिरे र माओवादी केन्द्र बाट हरि कुमार राना लगायतका नेताको उम्मेद्वारी परेको छ । झापा क्षेत्र नम्बर ३ मा पनि ३ जनाको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । यो काँगे्रस नेता कृष्ण प्रसाद सिटौला तथा राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनको क्षेत्र हो । त्यस्तै नेकपा एमालेबाट लाल प्रसाद साँवा,नेपाली काँगे्रसका देउ कुमार थेवे लगायतका नेता चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ४ मा पनि ६ जना स्वतन्त्र उठेका छन ।
यता एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि केपी सर्मा ओलीको निर्वाचन क्षेत्रमा सबै भन्दा धेरै १२ जनाको स्वतन्त्र उम्मेद्वारी परेको छ । ओलीको गढ मानिने क्षेत्र नम्बर ५ मा कुल २५ जनाको उम्मेद्वारी परेको मा १२ जना स्वतन्त्र रहेका हुन । यो क्षेत्रमा नेपाली काँगे्रस र माओवादी केन्द्रको गठबन्धनले खगेन्द्र अधिकारी लाई उम्मेद्वार बनाएको छ ।
स्थानिय तहको निर्वाचनमा मतदाताले स्वतन्त्र उम्मेदवारलाई राम्रो मत दिएर केही स्थानमा निर्वाचित समेत गराएपछि स्वतन्त्र उम्मेद्वारी दिनेको संख्यामा बृद्धि भएको हो ।