विर्तामोड, असोज २८ । नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशबराज पाण्डे झापामा सत्ता गठबन्धन दलको चुनावी संयन्त्रको संयोजक चयन हुनु भएको छ । प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका संयोजक राजु आचार्य अग्नी सचिव रहनुभएको छ ।
समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविता भेटवाल र वि.पि. भट्टराई रहनुभएको छ । गठित समितिले जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र विविध विषयमा समन्वय र समस्या समाधानका लागि कार्य गर्नेछ ।
यसअघि नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । सभापति थेवे झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो ।
नेविसंघको १ नं क्षेत्रीय समिति सदस्य भई नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका पाण्डे कनकाई क्याम्पस विर्तामोडको स्ववियु सभापति, नेविसंघको जिल्ला पदाधिकारीको जिम्मेवारी संहालेपश्चात पार्टीको मूल राजनीतिमा क्रियाशिल हुनुभएको हो ।
नेपाली कांग्रेस तत्कालीन ३ नम्बर क्षेत्रीय समितिको सदस्य हुँदै पार्टीको १० औं महाधिवेशनबाट दुई कार्यकाल जिल्ला सदस्य, १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बन्नुभएका पाण्डे गत मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट उपसभापतिमा अत्यधिक मतसहित विजयी हुनुभएको थियो ।