झापा, असोज २६ । नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यका लागि दर्ता गराउनु भएको उम्मेद्वारी फिर्ता लिनु भएको छ । पार्टीको टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै झापा क्षेत्र नं. १ ‘ख’ तर्फ प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वार दर्ता गराउनु भएका माओवादी नेता चिमरियाले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिनु भएको छ । त्यस्तै झापामा अन्य १४ जनाले पनि उम्मेद्वारी फिर्ता लिनु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ता लिनेहरूमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की, १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल,४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नं ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एकजना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेशतर्फ ५ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, ५ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दिपेन्द्र तिवारी, राजन चापागाई र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । १५ जनाको उम्मेद्वारी फिर्ता भए पछि अब झापामा १९२ जना उम्मेद्वार कायम रहेका छन ।