मेचीनगर, असोज २४ । नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष र एक जना जिल्ला सदस्य सहित १९ जना विभिन्न जिम्मेवारीमा रहेकाहरुले एकै पटक पार्टी छोडेको घोषणा गरेका छन ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको झापा क्षेत्र नं. १ ख तर्फको टिकट वितरणमा असन्तुष्टी जनाउँदै माओवादीका मेचीनगर अध्यक्ष राजन चिमरिया र जिल्ला सदस्य विष्णु चौधरी सहित १९ जनाले आइतबार बिज्ञप्ती जारी गर्दै माओवादी केन्द्र विभिन्न जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका छन ।
यसरी राजिनामा गर्नेहरुमा माओवादीका मेचीनगर कमिटिका सह इन्चार्ज शान्तिराम चिमरिया, नगर उपाध्यक्ष बद्रीनाथ फुयल, नगर कोषाध्यक्ष दिनेश ओली रहेका छन । त्यस्तै नगर सचिवालय सदस्य चेतनाथ बस्नेत, नगर सदस्यहरु सन्तोस प्रसाई, बिष्णुहरि देवकोटा, आइतबहादुर विश्वकर्मा, मुनिलाला राजबंशी र शुशिल राजबंशी रहेका छन ।
माओवादीबाट राजिनामा गर्नेमा मेचीनगर वडा नं. १०, ११, १२ र १४ का पार्टी कमिटिका वडा अध्यक्षहरु, वाइसिएल नगर सचिव र विभिन्न वडाका इन्चार्जहरु हरेका छन ।
माओवादी केन्द्रका तर्फबाट नगर अध्यक्ष राजन चिमरियालाई प्रदेश ख को उम्मेद्वार बनाउनु पर्छ भन्ने अडानमा रहेकाले चिमरियालाई पार्टीले टिकट नदिए पछि पार्टीको जिम्मेवारीबाट राजिनामा दिएको बताइएको छ । चिमरियाले पार्टीको नगर अध्यक्षबाट राजिनामा दिएर प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेद्वार दर्ता गराउनु भएको छ । उक्त प्रदेश सभा क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य श्यामबीर लिम्बुलाई पार्टीले उम्मेद्वार बनाएको छ । सोही क्षेत्रमा एमाले राप्रपा गठबन्धनका तर्फबाट राप्रपा मेचीनगरकी अध्यक्ष सविना बजगाई उम्मेद्वार हुनुहुन्छ ।