झापा, असोज २३ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदैंछ। यसका लागि ७७ वटै जिल्लामा तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नु भयो ।
मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई प्रमुख आयुक्त थपलियाले आग्रह गर्नु भयो ।
आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा थपलियाले आग्रह गर्नु भयो ।
निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।