झापा, असोज २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । जब जब चुनाव आउँछ तब तब झापाका सबै उम्मेद्वार ओली आफैंले तय गर्ने गर्नु भएको छ । त्यसमा पनि आफु इतरकालाई ओलीले खासै उम्मेद्वार बनाउन इच्छा देखाउनु हुन्न ।
एमाले झापामा ओली पक्षीय नेताहरु नै धेरै छन । केही औंलामा गन्न सकिने मात्रै ओलीको बिपक्षमा उभिएर पनि एमालेको संगठन बनाउन लागि परेका देखिन्छन । ओलीको क्याम्पमा नरहेर पनि एमालेलाई झापामा बलियो बनाउने मध्ये अग्रपंत्तीमा पर्नु हुन्छ एमाले केन्द्रीय सदस्य रविन कोइराला । झापा काकरभिट्टाका कोइराला सधैं जसो एमाले अध्यक्ष ओलीको बक्रदृष्टिमा परेका देखिन्छ ।
एमाले जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदा होस या पार्टी जिल्ला इन्चार्ज हुँदा नै किन नहोस कोइरालाका लागि बलियो तगारो नै हुने गर्नु भएको थियो केपी ओली । पार्टी जिल्ला इन्चार्ज रहनु भएका कोइरालाको ठाउँमा आफ्ना प्रिय पात्र अग्नी खरेललाई इन्चार्ज बनाएर ओलीले कोइरालालाई सहइन्चार्जमा घटुवा गरिदिनु भयो । त्यति हुँदा पनि सहज स्वीकार गर्नु भएका कोइरालालाई अहिले आएर भने ओलीले हुत्याइनै दिनु भयो ।
वडा तहदेखि नगर कमिटि र क्षेत्रीय कमिटि हुँदै जिल्ला तथा प्रदेश कमिटिले समेत झापा १ का लागि प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा सर्वसम्मत कोइरालाको नाम केन्द्रमा पठाएको थियो । तर ओलीको टेबलमा पुगेको कोइरालाको नामलाई रद्दिको टोकरीमा फाल्दै फेरि उनै खरेलको अस्त्र प्रयोग गरी कोइरालालाई रोक्न सफल हुनु भएको छ ।
के चाहन्छन ओली !
झापा क्षेत्र नं. १ को एमालेको संगठनका पछाडी रविन कोइराला नै भेटिनु हुन्छ । गत स्थानीय तह निर्वाचनमा चुनावको मुख्य कमाण्ड सम्हाल्नु भएका कोइरालाले मेचीनगरको प्रमुख, उपप्रमुख र १२ वटा वडा अध्यक्ष सहित ८० मध्ये ७२ पदमा एमालेलाई निर्वाचित गराउन सफल हुनु भयो ।
झापा १ को संगठन मुख्यतया कोइरालाकै वरीपरि घुमेको छ । हो यही संगठनलाई आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली कोइरालालाई अगाडी बढ्न दिने मनस्थीतिमा नदेखिएको एमाले भित्रैबाट कुरा उठ्न थालेको छ ।
कोइरालालाई संगठनको शक्तिबाट च्यूत गरेर आफ्नो पक्षको नेताको जगमा नयाँ संगठन निर्माणका लागि ओली एक पटक झापा १ को एमाले संगठन पुर्ननिर्माणको तयारीमा लागेको देखिन्छ । त्यसका लागि बर्तमान संगठन संरचना ध्वस्त नै पार्नु परे पनि ओली तयार रहेको जानकारहरुको बुझाई छ ।
पटक पटक कोइराला वहाँका अगाडी ठिङ्ग उभिनुमा यही झापा १ को बलियो संगठन नै हो भन्ने राम्ररी बुझ्नु भएका ओलीले त्यो संगठन नै ध्वस्त पारेर नयाँ शिराबाट संगठन निर्माण गर्दा कोइरालाका लागि अगाडी बढ्ने बाटो निक्कै कठिन बनाउने चाहाना ओलीको रहेको देखिन्छ ।