मोरङ, असोज ८ । २०७२ को महाभूकम्पयताका हरेक विपदमा सेवाभावसहित खटिँदै आएको र अफ्ठयारोमा परेका सर्वसाधारणलाई आवास, स्वास्थ्य सेवासमेत उपलब्ध गराउँदै आएको मेची अभियान झापाले आज मोरङको भित्रि गाउँ लखन्तरीमा स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
शनिबार मोरङको ग्रामथान गाउँपालिकाको वडा नम्बर १ का तीन सयभन्दा बढी सर्वसाधारणको मुटु, मृगौला, उच्चरक्तचाप र मधुमेह रोगको परीक्षण गरी समस्या भएकाहरुलाई निशुल्क थप उपचार र औषधिसमेत प्रदान गरिएको छ ।
मेची अभियान र हर्ड नेपालको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य सेवा शिविरमा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा सञ्जीव शर्मा नेतृत्वको ‘केएचडिसी’ कार्यक्रमले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शर्मासहित ८ जना चिकित्सक र १६ जना स्वास्थकर्मीको टोलीले गाउँमै आएर जाँच र उपचार गरेपछि स्थानीयबासी हर्षित देखिन्थे ।
‘हाम्रो गाउँमा यति धेरै डाक्टर पहिलो पटक आएको देखेको हुँ’, स्थानीय छदनी माझीले भन्नुभयो ‘गाउँमै आएर उपचार गरिदिँदा खुसी लागेको छ ।’
हर्षित हुनेमध्येकै एक हुनुहुन्थ्यो समतली राजवंशी । ग्रामथान १ कै बासिन्दा वहाँ धेरै दिनदेखि छाति दुख्ने समस्याले पीडित हुनुन्थ्यो । गाउँमै विशेषज्ञ चिकित्सकले जाँच गरेर औषधिसमेत दिएपछि उपचार पाएको अनुभव वहँलाई भएको छ । ‘धेरै दिनदेखि छाती दुखिरहेको थियो’, राजबंशीले भन्नुभयो ‘जुन डाक्टरलाई देखाउन धरान जाने योजनामा थिएँ, उहाँ नै गाउँमा आएपछि मलाई त सजिलो भएको छ ।’
जनस्वास्थ्यका क्षेत्रमा चर्चित चिकित्सक मानिने डा. शर्मा केएचडिसी कार्यक्रममार्फत प्रदेश १ र २ का विभिन्न ठाउँमा पुगेर निशुल्कमा उपचार गर्ने अभियानमा सक्रिय हुनुहुन्छ । वहाँको अभियानलाई पछिल्लो समय मेची अभियानले पनि साथ दिइरहेको छ ।
‘मेची अभियान आम नागरिकको समस्यामा सकेको सहयोग गर्न अग्रसर छ’, अभियानका संयोजक विजय डालमियाले भन्नुभयो ‘हामी यस्ता अभियानलाई निरन्तरता दिइरहनेछौं ।’ ‘हाम्रो जस्तो पिछाडी परेको गाउँमा नाम चलेको डाक्टरसहित धेरै जना जना डाक्टरहरु आएर स्वास्थ्य जाँच गरिदिंदा धेरै राम्रो भयो,’ ग्रामथान १ का वडा अध्यक्ष सुरेश कुमार माझीले भन्नुभयो, कहिले अस्पताल जान नमान्ने तर बिरामी भएर घरमै थला परेकाहरुले समेत उपचार पाएका छन ।
सहयोगी संस्था हर्ड नेपालका तर्फबाट राकेश यादब, ज्ञानु गौतम, अस्मिता चौहान लगायतले स्वास्थ्य शिविरमा समन्वयकारी भुमिका निर्वाह गर्नु भएको थियो ।
ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको प्रमुख आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविरको उदघाटन सत्रमा अध्यक्ष थारुले मेची अभियान, हर्ड नेपाल र केएचडिसी कार्यक्रमको प्रसंशा गर्नु भएको थियो । उक्त अवसरमा ति संस्थाहरुलाई गाउँपालिकाको तर्फबाट सम्मान पत्रद्वारा सम्मानित समेत गरिएको थियो । सोही अवसरमा स्थानीयहरुलाई लत्ता कपडा र झुल समेत वितरण गरिएको हर्ड नेपालका राकेश यादबले बताउनु भयो ।
मेची अभियानले झापामा आगलागीबाट घर जलेकाहरुको घर बनाइदिने, कोरोनाकालमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा विपद्का बेला उद्धार र राहतमा पनि सक्रियता देखाउँदै आएको छ ।