मेचीनगर, असोज ५ । झापा मेचीनगर नगरपालिकाकी २२ बर्षिया सरु खनाल (नाम परिवर्तन) लाई केही दिन अघि अब तेरो नागरिकता बन्छ भनेर साथिले सुनाए । त्यो सुन्दा सरुमा कुनै खुसी थिएन । बिगतको ४ बर्ष वहाँले नागरिकता पाउनकै लागि दौडधुप गरिन तर पनि उनले अझै नागरिकता पाउन सक्नु भएको छैन । बेपत्ता बाबुकी छोरी सुरु र वहाँकी आमालाई यतिबेला नागरिकताको कुरा नै सुन्न मन लाग्दैन ।
केही दिन अघि कानून पास भयो अब बन्छ नागरिकता भनेर अलिकति खुसी पलाएको थियो तर त्यो खुसी धेरै दिन टिक्न सकेन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरेर पठाएको नागरिकता विद्येयक प्रमाणीकरण नगरे पछि सरुको नागरिकता बन्ने कानून निर्माण हुन पाएन । सरुलाई जसले अब तेरो नागरिकता बन्छ भनेर सुनाएका थिए हिजो बेलुका उनै साथिले अब नबन्ने भयो भनेर सुनाउँदा अलि अलि आएको खुसि पनि फेरि खिन्नतामा परिणत भयो ।
सरुलाई आफ्नो नागरिकता बन्छ भन्ने अब विश्वास लाग्न छोडेको छ । ‘नागरिकता बन्छ भनेर ४ बर्ष आमा र मैले खुब दौडधुप गर्यौंं,’ सेतोपत्रसंग कुरा गर्दै सरुले भन्नु भयो, ‘अब त नागरिकता बन्छ भन्दा पनि जिस्क्याए जस्तो लाग्न थाल्यो ।’
मेचीनगर ८ मै जन्मिएकी सरु ६ महिनाकी हुँदा २०५८ सालमा वहाँका बुवा घर छोडेर हिड्नु भएको थियो । अहिलेसम्म बुवाको कुनै खबर नभएको सरुले बताउनु भयो । माइतिको संरक्षणमा बस्नु भएकी सरुकी आमाको माइतिबाटै नागरिकता बनाएको छ । तर बाबुको ठेगान नलागेका कारण सरुको नागरिकता बन्न सकेको छैन । आमाको नामबाट मात्रै नागरिकता पाउने व्यवस्था नभएका कारण सरुको नागरिकता बन्न सकेको छैन ।
अहिले बिबिएस चौथो बर्षमा अध्ययनरत सरुको बुवाको नागरिकता थिएन । मुल घर गोर्खा बताउने वहाँका बुवा मेचीनगरमै काम गर्नु हुन्थ्यो र सरुको आमासंगै भेट भएर विवाह भएको थियो । बुवा तर्फका परिवारसंग सरु र वहाँकी आमाको भेटघाट नै छैन । यतिसम्मकी बुवाको घर काँहा थियो भनेर समेत वहाँहरुलाई यकिन छैन तर कहिले काही गोर्खा हो भनेर बुवाले भन्ने गरेको सरुलाई आमाले सुनाउने गर्नु भएको थियो ।
‘बुवा बेपत्ता भएको २१ बर्ष भयो, मावली परिवारसंगै बसेका छौं,’ सरुले भन्नुभयो, ‘मेरो पढाईका लागि खर्च जुटाउन आमा बैदेशिक रोजगारीमा जानु भाको छ ।’ बुवा बेपत्ता भए पछि मावली हजुरबुवाले सरुको जन्मदर्तासम्म तेती बेलै बनाई दिनु भएको थियो । ‘हजुरबुवाले धन्न कसो कसो गरेर जन्मदर्ता बनाई दिनु भएछ र अहिले पढ्नसम्म पाएको छु,’ वहाँले भन्नुभयो, ‘जे गर्न पनि नागरिकता चाहिन्छ त्यसैले घरबाट कतै निस्किनै मन लाग्दैन ।’
नागरिकता नभए बैंक खाता खोल्न नपाएका कारण आमाले विदेशबाट पठाएको पैसा पनि अर्काकै नाममा पठाउनु परेको वहाँको दुखेसो छ । ‘कतै जागिर खान पनि पाउँदिन,’ वहाँले भन्नुभयो,‘त्यही भएर पढ्न पनि मन लाग्दैन ।’
त्यस्तै समस्या छ मेचीनगर ८ कै रेजिना चौहान भण्डारीको । बुवा र आमाको जन्मको आधारमा नागरिकता बनेकाले वहाँको नागरिकता अहिलेसम्म बनेको छैन । ‘विवाह गरेको ११ बर्ष भयो,’ रेजिनाले भन्नुभयो, ‘बच्चा ५ बर्षको भयो तर मेरो नागरिकता बनेको छैन ।’
श्रीमान, सासु र ससुराको बंशजकै नागरिकता छ तर पटक पटक नागरिकता बनाउँन जाँदा बुवाको नागरिकता जन्मको भएकाले छोरा छोरीको नागरिकता बनाउने कानून नभएको भन्दै फर्काउने गरेको रेजिनाले सुनाउनु भयो । ‘नागरिकता बनाउन भनेर धेरै पटक वडा कार्यालय, नगरपालिका र चन्द्रगढीसम्म गयौं,’ वहाँले भन्नुभयो, ‘तर कानून बनेकै छैन भन्दै फर्कादिए ।’
संविधानमा व्यवस्था भए पनि नागरिकता ऐन नबनेका कारण बेपत्ता बाबु आमाको छोरा छोरी, बुवा बेपत्ता भएर आमाको नामबाट नागरिकता पाउने, जन्मसिद्धको नागरिकता भएका बाबुआमाका सन्तानहरुले समेत नगारिकता पाउने बाटो बन्द भएको छ । यही बिषय समेटर प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएको नागरिकता विद्येयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएन ।