प्रमिला गौतम ।
आत्महत्या आफ्नो इच्छाले जानाजान आफूले आफैंलाई समाप्त पार्ने योजना बनाउने तथा मौका पाउनासाथ वास्तविक रुपमै आफ्नो जीवनलाई समाप्त पाने कार्य हो ।
डब्लु एस ओको तथ्याङ्ग अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको देखाएको छ भने २० जनाले असफल प्रयास गरेका हुन्छन । जसबाट २५ देखि ३५ नजीकका व्यत्तिःलाइ प्रत्यक्ष प्रभाव परेको हुन्छ । नेपालको हकमा नेपाल प्रहरीको विसं २०७५को तथ्याङ्गलाई नियाल्दा नेपालमा प्रतिदिन करीब १५ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ र अझ पछिल्ला बर्षहरुमा यो दर घट्ने भन्दा झन बढ्दो रहेको देखाएको छ । प्रहरीको तथ्याङ्ग अनुसार बर्ष २०७४/७५ मा ५३१७ जना, बर्ष २०७५/७६ मा ५७५४, २०७६/७७ मा ६२७९ र २०७७/७८ मा ७१४१ जनाको आत्महत्या गरेका छन ।
अझ कोरोना भाइरस र यसबाट सृजित भयावह अवस्था र बन्दाबन्दी(लकडाउन)को समयमा ३ महिनाको अवधीमा मात्रै नेपालमा १२०० बढीले आत्महत्या गरेको प्रहरीको तथ्याङ्गले देखाउँछ । विश्वमा मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये आत्महत्या दोस्रो प्रमुख कारण देखिन्छ ।
मृत्यु हुनेहरु मध्ये करीब ७७ प्रतिशत मानिसहरु कम तथा मध्यम आय भएका राष्ट्रहरुको भएको पाइएको छ । जसमा पुरुषहरुको संख्या बढी छ भने आत्महत्या प्रयासको लैङ्गिक अनुपात हेर्दा भने महिलाहरुको संख्या बढी देखिन्छ । आत्महत्या प्रयासको विश्व तथ्याङ्गले पुरुष र महिलाको तुलना १ः३ को अनुपातमा देखिन्छ । अर्थात आत्महत्याको प्रयास गर्नेमा पूरुषको तुलनामा महिलाको संख्या तीन गुणा बढी छ ।
डब्लु एच ओका अनुसार आत्महत्या गर्ने देशहरुको सूचीमा नेपाल ११५ औं स्थानमा पर्दछ । अन्य देशको जस्तै नेपालमा पनि भिन्न भिन्न तरिकाले आत्महत्या गरेको देखिन्छ ।
आत्महत्या विश्वमा दैनीक घटिरहने एक प्रकारको सामाजिक घटना नै भए पनि यो एक ज्यादै संवेदनशील एंव जटिल सामाजिक समस्या र सामाजिक चुनौति पनि बन्दै गइरहेको छ ।
विश्वका चर्चित व्यक्तिहरुको पनि मृत्युको कारण आत्महत्या हुनेले पनि यो निक्कै जटिल र संवेदनशील घट्ना हो भन्न सकिन्छ । समाजका शिक्षित, अशिक्षित, धनी, गरीब, रोजगार, बेरोजगार, युवा, वालक, बृद्ध बृद्धादेखि सबै पेशा वर्ग क्षेत्रका मनिसले आत्महत्या गर्ने गरेका घटना देख्न र सुन्न पाईन्छ ।
आत्महत्या कसले गर्दैन भनेर यसै अनुमान लगाउन नसकिने हुँदै गएको छ । तथापी उमेर समूहका हिसावले आत्महत्या गर्नेहरुमा १५ देखि २९ बर्षकाहरु धेरै देखिन्छन ।
झट्ट सुन्दा र हेर्दा नितान्त व्यक्तिगत जस्तो देखिने आत्महत्याका अधिकांश घटनाहरुमा व्यक्तिगत भन्दा पनि पर गएर सामाजिक बिषयबस्तुहरु कारण बनेका देखिन्छन ।
जसमा मुख्यतः हाम्रो सामाजिक संस्कार, आर्थिक, लैङ्गिक ,घरेलु हिंसा, यौनजन्य हिंसा, सामाजिक विभेद, असमानता, स्रोत साधन र अवसरमाथिको पहुँचको कमी, बेरोजगारी, मनासिक समस्या जस्ता कारण मुख्य रुपमा रहेको अध्ययनहरुले देखाएका छन ।
प्रसिद्ध मनोविद सिगमंड फ्रायड अचेतन मनस्थितिलाई आत्महत्याको कारण मान्दछन भने फ्रान्सेली दार्शनिक एंव समाजशास्त्री दुर्खाइम व्यक्तिको सामाजिक सम्बन्धहरुको उपजको रुपमा आत्महत्यालाई हेर्दछन । जे भए पनि आत्महत्या एक संवेदनशील र जटिल सामाजिक समस्या बन्दै गइरहेको र यसले नाता सम्बन्ध र घरपरिवार तथा सामाजलाई नराम्ररी विचलित बनाइरहेको परिप्रेक्ष्यमा आत्महत्या न्यूनीकरण, रोकथाम र परामर्शको क्षेत्रमा राज्यद्वारा खासै प्रभावकारी कदम उठाएको र पर्याप्त बहस चलाएको पाइएको छैन ।
आत्महत्या सम्बन्धमा गरिएका केही अध्ययनले व्यक्तिले निम्न अवस्थामा आत्महत्या गर्न सक्ने प्रवल सम्भावना रहन सक्ने पहिचान गरिएको छ ।
- यौन दुव्र्यवहार, लैङ्गिक हिंसा, घरेलु हिंसा, प्रेममा असफलता ।
- विगतमा आत्महत्या प्रयास गरी असफल भएको व्यक्ति ।
- परिवारमा आत्महत्याको इतिहास कायम रहेको व्यक्ति ।
- मानसिक रुपले विक्षिप्त व्यक्ति ।
- असाध्य रोगबाट ग्रस्त भई निको हुने सम्भावना कम रहेको व्यक्ति ।
- सीप, रोजगार विहिन अविवाहित व्यक्ति ।
- मानसिक परामर्शमा रहेको व्यक्ति ।
- अचानक ठूलो आर्थिक क्षति वा सामाजिक बदनामीमा परेको व्यक्ति ।
- संवेगात्मक नियन्त्रण गुमाई अपराध गरे पछि ग्लानीले विक्षिप्त भएको व्यक्ति ।
- सम्बन्ध विच्छेद वा परिवारका सदस्यको मृत्युका कारणले एक्लो भएको प्रौढ व्यक्ति ।
व्यक्तिमा आत्महत्या पुर्व निश्चित लक्षणहरु देखिन्छन नै भन्ने हुँदैन । तथापि आत्महत्या गर्ने वा प्रयास गर्ने व्यक्तिहरु कुनै न कुनै व्यवहारजन्य लक्षण भने देखाउने गर्दछन भन्ने पनि अध्ययनले देखाएको छ । जस्तैः
- मर्ने उपाय बारेको खोजी गर्ने
- मर्न मन लागेको कुरा गर्ने
- निराशाजनक कुरा मात्र गर्ने
- व्यवहारमा अस्वभाविक परिवर्तन देखाइरहने
- एकान्तमा एक्लै बस्न र आफैंमा हराउन मनपराउने
- आफूलाई परिवारको बोझ भएको ठान्ने
- दैनिकीमा रुचि नदेखाउने तथा धेरै समय सुतिरहने
- राति कम सुत्ने , आफूलाई लापरवाह भएको देखाउने
- क्रोध र बदलाको भावना लिने तथा आक्रोशित भएको अभिनय गर्ने
- धुम्रपान,मादक पदार्थ वा लठ पार्ने औषधी बढी सेवन गर्ने
- बसी रहेको ठाउँमा कोही आइपुगे झस्किने आदि ।
आत्महत्या सम्बन्धि उपर्युक्त तथ्यलाई बुझिसकेपछि अब यसलाई कसरी न्यूनीकरण गर्ने, रोकथाम गर्ने र परामर्श दिने भन्ने विषयमा सबै सरोकारवालाहरुको चासो केन्द्रित हुन जरुरी छ । School of Psychology का Founder Dr. Naren Singh भन्छन, ‘यो मनको सम्पर्क त्यो मन सम्म पुर्याउने, यो मन र त्यो मनको बीचमा संवाद गर्ने र यो मनले त्यो मनको हेरचाह गर्ने’ कार्यबाट आत्महत्या न्यूनीकरण सम्भव छ । आत्महत्या सम्बन्धि अध्येता, अनुसनधानकर्ता, नागरिक समाज, सामाजिक अगुवा, सामाजिक मनोविमर्शकर्ता, सचेत सदस्यले आत्महत्याको सोच आएका व्यक्तिलाई निम्न उपायद्वारा सहयोग पुर्याउन सकिने कुरा अनुसन्धानको निष्कर्ष छ ।
- आत्महत्या तथा आत्महानीको व्यवहारिक संकेतहरुलाई चिन्ने ।
- आत्महत्या सम्बन्धि सावधानी अपनाउने अर्थात आत्महत्यामा प्रयोग हुनसक्ने साधनलाई सम्बन्धित व्यक्तिको पहुँचबाट टाढा राख्ने ।
- त्यस्ता व्यक्तिलाई सधैं साथै राख्ने वा एक्लै नछाड्ने ।
- उनीहरूको कुरा सुनिदिने ।
- भावनाको कदर गर्ने ।
- मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद र तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहन गर्ने ।
- हेल्पलाइनको सहयोग लिने वा लिन प्रोत्साहन गर्ने ।
- निरन्तर सम्पर्कमा रहिरहने र अवस्था बारे जानकारी लिने ।
- कुनै पनि आत्महत्याको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र आत्महत्या तथा आत्महानी बारे खुलेर कुरा गर्ने ।
विशेष जानकारीः
नेपालको हकमा हेल्पलाइन ११६६ मा नमस्ते नेटवर्कबाट २४ सै घण्टा निशुल्क सेवा प्राप्त गरी आत्महत्या तथा आत्महानीको सोच आएका व्यक्तिलाई परामर्श दिइने व्यवस्था छ ।
लेखक, नेपाल परिवार नियोजन संघ झापाकी काउन्सिलर हुनुहुन्छ ।