इटाभट्टा, भदौ २१ । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि राजनितिक दलहरुको तल्ला तहबाट उम्मेद्वार सिफारिस गर्ने काम धमाधम भइरहेको छ ।
चासोको रुपमा हेरिएको झापा क्षेत्र नं. १ को चुनाव सरगर्मी पनि तातेको छ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेद्वार हुने निश्चित प्राय भएसंगै यो क्षेत्रले देशभरको ध्यान तानेको छ । यस मानेमा पनि यो क्षेत्रप्रति सबैको चासो छ कि दुई पटक पराजित हुनु भएका काँग्रेस महामन्त्री शर्मा तेस्रो पटक यही क्षेत्रबाट उम्मेद्वार बन्दै हुनुहुन्छ भने २०७० सालमा शर्मालाई नै हराउने नेकपा एमालेका केन्द्रिय सदस्य रविन कोईराला यो पटक पनि एमालेबाट उम्मेद्वार हुने लगभग तय भएको छ ।
सत्ता गठबन्धनले यसपाली काँग्रेस उम्मेद्वार शर्मालाई विजयी बनाउने योजनाका साथ चुनावी मैदानमा होमिनेछन भने बलियो संगठन संरचना भएको एमालेले आफ्नो बिरासत यो क्षेत्रमा कमजोर हुन नदिने गरी चुनावी रणनीति बनाउने नै छ ।
सत्ता गठबन्धनमा काँग्रेसले प्रदेश सभाको उम्मेद्वार पाउने निश्चित भएसंगै गठबन्धनका अन्य दलले प्रदेश सभामा बलियो दाबेदारी प्रस्तुत गरेका छन । खास गरी गठबन्धन भित्रका मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले झापा १ का दुवै प्रदेश सभा क्षेत्रमा आ आफ्नो दाबी बलियो बनाउँदै लगेको देखिन्छ । त्यस्तै काँग्रेस प्रतिनिधि सभा क्षेत्रसंगै एउटा प्रदेश सभा आफुलाई राखेर अर्को प्रदेश सभा गठबन्धनका अन्य दललाई दिने प्रयासमा छ ।
विश्वप्रकाशलाई जिताउन काँग्रेसका तर्फबाट जुनसुकै सम्झौता गर्न सक्ने एक काँग्रेस महाधिवेशन प्रतिनिधिले सेतोपत्रसंग बताउनु भयो । ‘हाम्रो मुख्य उद्देश्य यसपाली जसरी पनि विश्वप्रकाशलाई जिताउनु हो,’ वहाँले भन्नुभयो, ‘अरु बिषयमा हामी खुल्ला छौं ।’
झापा १ अन्तर्गतको एउटा प्रदेश सभा क्षेत्र माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तै छ । तर कुन क्षेत्र लिने वा माओवादीको भागमा पार्ने भन्ने बिषयमा माओवादी भित्रै एक मत देखिदैंन । विगतको मतलाई हेर्ने हो भने माओवादीका लागि दुवै तर्फ उस्तै अवस्था छ । जुन प्रदेश क्षेत्र लिए पनि माओवादीलाई काँग्रेसको गतिलो साथ नभई चुनाव जित्ने अवस्था छैन । माओवादी भित्रबाट उम्मेद्वारको सूचीमा रहेकाहरुको आँकाक्षाका कारणले पनि क्षेत्रको तानाताना देखिन्छ ।
त्यसो त एउटा प्रदेश सभा क्षेत्रको शसक्त दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभा ख मा आफुहरुको भागमा पर्नु पर्ने गठबन्धन भित्र दाबी गरिरहेको बुझिएको छ । नेकपा एसका एक जिल्ला नेताका अनुसार प्रदेश सभाको उम्मेद्वारका लागि पार्टीका जिल्ला उपाध्यक्ष सविता भेटवाल र सचिव बिपि भट्टराईको नाम मुख्य दाबेबारका चर्चामा छ ।
नेकपा मओवादीले जितेको क्षेत्रमा छोड्न नहुने दाबी पनि गरिरहेको छ । ‘विगतको निर्वाचन माओवादीका उम्मेद्वारले जितेको क्षेत्र हो त्यसैले हाम्रो पहिलो दाबी प्रतिनिधि सभा क्षेत्रमा नै हो,’ माओवादी केन्द्रका प्रदेश ‘क’ का संयोजक राजु दाहालले भन्नुभयो, ‘तर पनि केन्द्रबाट आएको निर्णयलाई मानेर जानुको बिकल्प छैन ।’
काँग्रेसले प्रतिनिधि सभा लिने हो भने प्रदेशका दुवै क्षेत्रमा माओवादी केन्द्रको दाबी रहने दाहाले बताउनु भयो । वहाँका अनुसार जिल्लाका अन्य क्षेत्रमा मिलाएर यो क्षेत्रका प्रदेश सभामा माओवादी र नेकपा एसका उम्मेद्वार बनाउन सकिने पनि हुन सक्छ ।
‘काँग्रेसले आफ्नो महामन्त्रीलाई जिताउने हो भने प्रदेश सभाका दुवै क्षेत्रको दाबी छोड्नु पर्छ,’ नेकपा एसका जिल्ला उपाध्यक्ष सविता भेटवालले भन्नुभयो, ‘गठबन्धन बलियो बनाउन पनि प्रदेशमा माओवादी र नेकपा एसलाई दिनु पर्छ ।’
यता काँग्रेस भने प्रतिनिधि सभामा महामन्त्री शर्मा सहित प्रदेश सभा क आफ्नो भागमा पार्ने दाउमा छ । क तर्फ काँग्रेसका गोपाल तामाङ, बालाजित राई र ताराबीर कटवालको दाबी छ । त्यस्तै ख तर्फ काँग्रेसका प्रेम सम्बाहाम्फे, लोकराज ढकाल र देवेन्द्र गौतमको दाबी छ ।
क्षेत्रको अवस्था र गठबन्धनलाई समेत समेट्नका लागि प्रदेश ख मा काँग्रेसले दाबी छोड्ने देखिन्छ भने माओवादीले श्यामबीर लिम्बु र राजन चिमरिया मध्ये एक प्रदेश सभा ख को उम्मेद्वार बनाउने लगभग निश्चित जस्तै भइसकेको छ । माओवादीले प्रदेश सभा क पाउने हुँदा नेताद्वय राजु दाहाल र माधव अर्याल मध्ये एक जना उम्मेद्वार हुने अवस्था छ ।