झापा, भदौ २१। केन्यामा जारी नेपाल र केन्या बिचको एक दिवसीय क्रिकेट श्रृंखला नेपालले क्लीनस्वीप गरेको छ । नेपालले तीन खेलको श्रृंखला ३–० ले जितेको हो । सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखलामा क्लीन स्वीप गर्न सफल भएको हो ।
नेपालले यसअघि पाँच खेलको टी–२० श्रृंखला ३–२ ले जितेको थियो । एक दिवसीयमा नेपालले पहिलो खेल ७ विकेटले, दोस्रो खेल १७ रनले तथा तेस्रो खेल ६ विकेटले जितेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा केन्याले दिएको २ सय ५६ रनको विजयी लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ्स खेले । अर्जुनले ९० बलमा ५८, आसिफले ४३ बलमा ५६ रन बनाए ।
वसिरले ४९ बलमा अविजित रहँदै ५२ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ४६ बलमा ४६ रन जोडे ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५१ बलमा ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । कोलिन्स अबुयाले ८४ तथा लुकास एनडानडासनले अविजित रहँदै ५९ रन बनाएको इनिङ्समा नेपालका सोमपाल कामी र आदील अन्सारीले २–२ विकेट लिए ।
वसिर अहमद र शाहब आलमले १–१ विकेट लिए । रोहितले कप्तानीमा आफू पनि अब्बल भएको प्रमाणित गरेका छन् । टी–२० को कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए ।
लामिछाने व्यवसायिक खेल खेल्न गएपछि रोहितले कप्तानी सम्होलका थिए ।