झापा, भदौ १७ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब देश र पार्टी दुवैको मुल नेतृत्वका लागि आफु तयार रहेको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा १ को बाहुण्डाँगीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भन्नुभयो, ‘हामीले नेतृत्वको काँध फेर्न चाहेको हो, त्यसका लागि तयार पनि छौँ ।’ ‘नेपाली राजनीतिमा पाको नेतृत्वलाई पालो दिन युवा नेतृत्व हरदम तयार छ’ शर्माले भन्नुभयो, ‘राजनितिक नेतृत्वले अब हरेक युवामा निराशा होईन आशा जगाउन सक्नु पर्छ ।’
झापाका प्रथम शहिद विश्वनाथ घिमिरेको सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहदरबारको भित्ताको रंग होईन अब त्यस भित्र बस्ने नेतृत्वको सोचमा परिवर्तन जरुरी रहेको शर्माले बताउनु भयो । वाद र विचार बिर्सेर देशलाई हेर्ने दृष्टि बिहङ्गम हुनु पर्नेमा शर्माले जोड दिनु भयो । ‘देश साझा हो, दल आआफ्नो ठाउँ र भूमिकामा छन, रहन्छन,’ वहाँले भन्नुभयो, ‘राजनीतिमा लागेका युवाले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्छ ।’
सालिक निर्माण समितिका अध्यक्ष राम कट्टेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु केशबकुमार बुढाथोकी, सरिता प्रसाई, गोमा भट्टराई, प्रदेश सभापति उद्धब थापा, काँग्रेस झापाका सभापति देउकुमार थेबे, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेकपा एकीकृत समाजवादी झापाकी उपाध्यक्ष सविता भेटवाल लगायतले शहिद विश्वनाथ घिमिरेको सालिकले नयाँ पुस्तालाई इमान्दारिताका लागि प्रेरित गर्ने बताएका थिए ।
आम समुदायबाट चन्दा संकलनबाट निर्माण गरिएको शहिद घिमिरेको सालिक निर्माण र सालिक राख्ने स्थलको पुर्वाधार निर्माणका लागि करीब १४ लाख रकम खर्च भएको निर्माण समितिका आर्थिक समिति संयोजक मोहन निरौलाले कार्यक्रममा जानकारी गराउनु भयो ।
निर्माण समितिका सचिव तथा शहिद घिमिरेका नाती निरज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।
शहिद घिमिरेको सालिक राख्नका लागि घिमिरेका परिवारले जग्गा समेत उपलब्ध गराउनु भएको छ । तत्कालित पञ्चायती व्यवस्थाले वि.स २०१९ साल जेठमा बाहुनडाँगीबाट चन्द्रगढी जानेक्रममा नकलबन्दा भन्दा दक्षीण तर्फ घिमिरेलाई गोली हानी हत्या गरिएको थियो ।