काकरभिट्टा, भदौ १४ । चरा सम्बन्धी खोज तथा अनुसन्धानकर्ता देबेन्द्र खरेलले चरा बिना मानिसको जीवन असभ्भव नै रहेको बताउनु भयो । खरेलकै नेतृत्वमा स्थापना भएको चरा तथा वन्यजन्तु संरक्षण समाज नामक संस्थाको सार्वजनिकिकरण गर्दै चरा अनुसन्धानकर्ता खरेलले मेचीनगरमा मात्रै ३०२ वटा प्रजातिका चरा आफैंले खोज गरिसकेको बताउनु भयो ।
‘विश्वमा नै दृत गतिमा उड्न सक्ने चरा मेचीनगरमा नै पाईन्छ,’ संस्था सार्वजनिकिकरणका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले भन्नुभयो, ‘विश्वमा नै दुर्लभ मानिने हरित परेवालाई पहिलो पटक मेचीनगरमा आफैंले खोज गरेको छु । त्यसैले मेचीनगरमा एउटा वर्ड सेन्चुरी स्थापना गर्न सबै तहका सरकारलाई आग्रह गर्दछु ।’
खोला उत्खननका कारण मेचीनगरका खोलामा आश्रीत चराहरुको बासस्थान अत्यन्तै जोखिममा रहेकाले नगरको एउटा खोलालाई उत्खनन निषेधित क्षेत्र घोषणा गरेर चराको संरक्षण गर्नु पर्ने खरेलको भनाई छ ।
प्रेस क्लब मेचीनगरको सहजिकरणमा भएको पत्रकार सम्मेलनमा चरा तथा वन्यजन्तु संरक्षण समाजका सचिव एस पि लुईटेलले संस्था स्थापना र त्यसका उद्देश्यहरुका बारेमा जानकारी गराउँदै प्रकृतिको उपहारका रुपमा रहेका चरा र अन्य वन्यजन्तुको संरक्षणमा विषेश अभियान सञ्चालन गर्न संस्था स्थापना गरिएको बताउनु भयो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकारहरु दिपिन राई, कुमार भट्टराई, मोहन काजी, लक्ष्मी उप्रेती, पर्वत पोर्तेल, ज्ञानेन्द्र निरौला, अर्जुन कार्की लगायतले संस्थाका बारेमा राखेको जिज्ञासालाई अध्यक्ष खरेलले जवाफ दिनु भएको थियो ।
काकरभिट्टास्थीत प्रेस क्लब मेचीनगरको सचिवालयमा सम्पन्न पत्रकार सम्मेलन प्रेस क्लबका सचिव देबु बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगर नगरपालिकामा २०७९ भदौ ८ गते र जिल्ला प्रशासन कार्यालय झापामा २०७९ भदौ १० गते दर्ता भएको थियो ।