झापा, भदौ १ । झापाको मेचीनगर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक छपाइका लागि पर्याप्त बजेट नछुट्याँदा विद्यार्थीहरु पुस्तक पढ्न नपाई परीक्षा दिन बाध्य भएका छन । नगरपालिकाले गतबर्षदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि पुस्तक भने छापेको छैन ।
गतबर्ष कक्षा २, ३ र ६ को पाठ्यपुस्तक छापेर वितरण गरिएको र यो बर्ष कक्षा ४, ५, ७ र ८ को पाठ्यपुस्तक छपाई गर्ने तयारी भएको मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सेतोपत्रलाई जानकारी दिनु भयो । ‘सबै कक्षाका पाठ्यपुस्तक हरेक बर्ष छपाई गर्न रकम अभाव छ,’ भण्डारीले भन्नुभयो, ‘गतबर्ष छपाई भएका कक्षाका पाठ्यपुस्तक नयाँ बिद्यार्थीले पनि पुरानै व्यवस्थापन गरेर पढ्नु पर्ने अवस्था छ ।’ शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार यो बर्ष कक्षा २, ३ र ६ मा भर्ना भएको विद्यार्थीले स्थानीय बिषयको पुस्तक गत बर्ष कै खोजेर पढ्नु पर्ने अवस्था छ ।
‘कक्षा २, ३ र ६ को गरी गत बर्ष ७ हजार ७ सय पाठ्यपुस्तक छपाई गरेर वितरण गरेको हो,’ भण्डारीले भन्नुभयो, ‘तर यो बर्ष ति कक्षाका पुस्तक छपाई गर्न बजेट छैन ।’ नगरपालिकाले पाठ्यपुस्तक छपाईका लागि गत बर्ष १० लाख र यो बर्ष १५ लाख मात्रै बजेट छुट्याएको छ । जबकी कक्षा १ देखि ८ सम्मको स्थानीय बिषयको पाठ्यपुस्तक छाप्न एकै बर्षका लागि ३० लाख भन्दा बढी रकम लाग्ने शिक्षा शाखा प्रमुख भण्डारीले बताउनु भयो । ‘यो बर्ष हामी कक्षा ४, ५, ७ र ८ को मात्रै पाठ्यपुस्तक छपाई गर्ने तयारीमा छौं,’ भण्डारीले भन्नुभयो, ‘स्थानीय बिषयको पुस्तक मात्रै नगरपालिकाले बार्षिक करीब २० हजार प्रति छाप्नु पर्ने हुन्छ तर बजेट अभावका कारण छाप्न सकिएको छैन ।’
पाठ्यपुस्तक लेखनका लागि विज्ञहरुलाई दिने रकम समेत अभाव भएकाले पनि पाठ्यपुस्तक तयार गर्न अप्ठ्यारो परेको भण्डारीले बताउनु भयो । कक्षा १ को भने पाठ्यपुस्तक छपाई नगर्ने योजना नगरपालिकाको रहेको भण्डारीले बताउनु भयो । पाठ्यपुस्तक नभएको अवस्थामा पाठ्यक्रमका आधारमा शिक्षकले अध्यापन गराउने व्यवस्था मिलाईको समेत भण्डारीले बताउनु भयो ।
मेचीनगर नगरपालिकाले नगरका विद्यालयमा कक्षा १ देखि ८ सम्म हाम्रो मेचीनगर नामक स्थानीय बिषयको पाठ्यक्रम बनाएर अध्ययन गराउन थालेको छ ।