नेपालमा लोप हुने अवस्थामा पुगेको चराको प्रजाति सङ्ख्या बढ्दै गएको छ । २४ वर्षअघि नेपालमा पाइने १ सय २९ प्रजातिको चरा खतराको सूचीमा रहेको थियो । हाल १ सय ७२ प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको नेपाल पन्छी संरक्षण सङ्घका अधिकृत मोहन बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । करिव सय वर्ष यता नेपालमा पाइने ठुलो वन बकुला, गुलाफि टाउके हाँस, तराई बाँदर चरि, हरियो कोचवा, खैरो मुसे फिस्टोलगाएत ७ किसीमका चरा हाल देखिँदैन । शिकारी चराको नाममा चिनिने गिद्ध, चिल, गरुड लगायत खतराको सूचीमा छन् ।
नेपालमा पाइने चराको संरक्षण गर्न यिनीहरूको वासस्थान सुरक्षित राख्न समुदायसँग सहकार्य गर्नुपर्ने, कृषि खेतीमा हुने रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नुपर्ने पन्छीविद् हेमबहादुर कट्वालले बताउनुभयो ।
त्यस्तै नेपालमा पाइने चराको प्रजाति बढ्दै गएको पन्छी संरक्षण सङ्घले जनाएको छ । सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा ८ सय ८६ प्रजातिका चरा पाइन्थ्यो । ४ वर्षमा नेपालमा ६ वटा नयाँ चराको प्रजाती थपिँदा ८ सय ९२ पुगेको छ । तर ती चराहरूको सङ्ख्या भने घट्दै गएको पन्छीविद्हरू बताउँछन् ।
गाउँघरमा आइरहने भँगेरा, कोटेरा, गौँथली, लामपुछ्रे, सारौ जस्ता चरा पनि घट्दै गएपछि नेपाल पन्छी संरक्षण सङ्घले छिमेकी चरा नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत जोकोहीले आफ्नो घर वरपर रहेका चराको सूचना सङ्घलाई दिन सक्छन् । यस्तै सङ्घले लोप भएका र लोप हुँदै गएका चराको बारेमा अध्ययन गर्ने तथा समाधानको उपाय खोज्ने काम पनि गरिरहेको छ ।