झापा, साउन ३० । सरकारसंग सम्झौता गरेर पनि किसानहरुले रकम नपाए पछि अहिले किसानहरु समस्यामा परेका छन । कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजनाका लागि उत्पादन मूलक गठबन्धनमा आधारित पूरक अनुदान सहयोगका लागि सम्झौता गरेका देशभरका ३८१ किसान सम्झौता अनुसारको रकम नपाए पछि यतिबेला समस्यामा परेका छन ।
प्रदेश १ का पिडित किसानहरुले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी सरकारसंगै गरेको सम्झौताको रकम समेत नपाएको बताएका थिए । ५० प्रतिशत अनुदान, ३० प्रतिशत बित्तिय ऋण र २० प्रतिशत किसानको नगदै लगानी गरेर आयोजनासंग सम्झौता गरिएकोमा अनुदानको तर्फको रकम भुक्तानी नभएका कारण समस्यामा परेको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना पिडित किसान संघर्ष समितिका संयोजक योगेन्द्र खनालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
दुध तथा दुग्ध पदार्थ, मासु तथा मासुजन्य पदार्थ र च्याङ्ग्रा पश्मिनासंग आबद्ध निजि फर्म तथा कम्पनीहरुले उत्पादन मूलक आयोजना तयार गरी सम्झौता गरेका विभिन्न कृषि फर्म सञ्चालक प्रदेश १ का ९६ जना किसानहरु यस आयोजनाबाट पिडित भएको संयोजक खनालले बताउनु भयो । ‘सरकारी संयन्त्रसंगै मागे बमोजिमको सबै कुरा पुर्याएर सम्झौता गरिऔं,’ संयोजक खनालले पत्रकारहरुसंग भन्नुभयो, ‘अनुदानको पहिलो किस्ता भुक्तानी दिने बेलामा रकम भुक्तानी गर्न मिल्दैन भनेर सरकारी संयन्त्रले नै किसानहरुलाई पत्र पठाए पछि हामी आत्महत्या गर्ने अवस्थामा पुगेका छौं ।’
आयोजनाका बिषयमा धनकुटास्थीत एउटा कृषक समूहका तर्फबाट सर्बोच्च अदालतमा मुद्धा परे पछि उक्त मुद्धाको अन्तिम किनारा नलागुन्जेल किसानलाई भुक्तानी दिन नमिल्ने बताएर आयोजना कार्यालयले भुक्तानी रोकेको दमकका पिडित किसान ध्रुव न्यौपानेले बताउनु भयो । ‘१० लाखदेखि २ करोडसम्मको आयोजनामा ५० प्रतिशत अनुदान दिने भनेर सम्झौता गरायो,’ न्यौपानेले भन्नुभयो, ‘हामीले त्यही अनुसारले लगानी गरेर काम गरिऔं तर अहिले अनुदानको रकम दिन नमिल्ने भनेपछि हामी समस्यामा परेका छौं ।’
‘एक बर्ष भन्दा बढी समय र आयोजनाले भने जति पैसा पनि लगाएर हामीले उत्पादन मूलक क्षेत्रमा काम गरेका छौं’ मेचीनगर ४ का पिडित किसान केशब सुवेदीले भन्नुभयो, ‘तर अहिले अनुदान नदिने भने पछि हामीलाई ठुलो आर्थिक संकट आइपरेको छ ।’
आयोजना अन्तर्गत सुवेदीको ७३ लाख ९४ हजार अनुदानको रकम पाउनु छ भने दमकस्थीत पुर्व नेपाल डेरीका सञ्चालक हेमचन्द्र खनालको ९३ लाख अनुदान रकम पाउनु पर्ने छ । त्यस्तै हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च प्रालि दमकका सञ्चालक ध्रुव न्यौपानेको ९३ लाख २० हजार रकम आयोजनाले अनुदान भुक्तानी गर्न बाँकी छ । दमक १० स्थीत गाई फर्म सञ्चालक किसान सुदीप गौतमको पनि सरकारले अनुदान बापतको ८० लाख भुक्तानी गर्नु पर्नेछ ।
पिडित किसानहरुले सम्झौता बमोजिमको रकम प्राप्त गर्न दबाब मुलक कार्यक्रमहरु समेत अगाडी बढाएका छन । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भदौ ५ गते नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाको मुख्य कार्यालय हरिहर भवन ललितपुरमा धर्ना दिने कार्यक्रम छ भने भदौ ६ गते उक्त कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गर्ने किसानहरुले पत्रकार सम्मेलनमा बताउनु भयो ।