इटाभट्टा, असोज ४ ।
मेचीनगर नगरपालिकामा कर्मचारीले खाएको ग्रेडको बिषयमा बिवाद उत्पन्न भएको छ । लेखा अधिकृत पदम कार्की, नगरशिक्षा अधिकारी होमनाथ भण्डारी सहित चार जना कर्मचारीले बढी ग्रेड खाएको भन्दै प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले बढी खाएको ग्रेडको रकम फिर्ता गर्न लेखा अधिकृत कार्कीलाई २०७७/५/२१ गते पत्राचार गर्नु भएको थियो । लेखा अधिकृत कार्कीलाई लेखिएको पत्र नगरपालिकाको वेब साइडमार्फत सार्वजनिक गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले आफुले कानून अध्ययन गर्दा लेखा अधिकृत कार्की सहित नगरका चार जना कर्मचारीले खाएको ग्रेड बढी भएको देखिएकाले तत्काल बढी भएको ग्रेडको रकम दाखिला गर्नु पर्ने बताउँदै आउनु भएको छ ।
तर प्रमुख प्रशासकिय अधिकृतको पत्र सार्वजनिक भएको चार दिन पछि भदौ २५ गते नगरप्रमुख बिमल आचार्यले ग्रेडको बिषयमा अर्को पत्र प्रमुख प्रशासकीय अधिकृतलाई लेख्नु भएको छ । नगरप्रमुख आचार्यले लेखेको पत्रमा ग्रेड बापत लेखा अधिकृत सहित चार जना कर्मचारीले खाएको ग्रेड कानून सम्मत ठिक रहेकाले सोही अनुसार गर्नु भनिएको छ ।
नगरप्रमुखले लेखेको पत्र भने नगरपालिकाको आधिकारिक वेबसाइडमा अपलोड भएन । बरु लेखा अधिकृत कार्कीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नु भएको छ । कार्कीले फेसबुक मार्फत सार्वजनिक गरिएको पत्र भने केही समय पछि फेसबुक पोष्टबाट हटाइएको छ ।
कर्मचारी प्रमुखले ग्रेड बापत बढी पैसा खाएको भन्ने र नगरप्रमुखले ग्रेड बापत जति पैसा खाएको हो त्यो कानून बमोजिम ठिक छ भन्ने अवस्था आए पछि तत्काल यो बिवाद समाधान हुने अवस्था देखिदैंन ।
कर्मचारीले खाएको तलब र ग्रेडका सम्बन्धमा महालेखा परिक्षकको कार्यालयबाट आउने लेखा परिक्षणको प्रतिवेदनले भने अनुसार गर्दा विवाद नहुने यस सम्बन्धी जानकारहरु बताउँछन ।
नगरपालिका भित्रको कर्मचारीको तलब र ग्रेडको बिषयमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत बीच नै बिवाद हुँदा नगरका सम्पूर्ण कर्मचारीको दुई महिना देखिको तलब समेत रोकिएको अवस्था छ ।