काकरभिट्टा, साउन २५ । विवादका कारण लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसकेको काकरभिट्टा माविको अध्यक्षमा भवानी केरुङ चयन हुनु भएको छ । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको हो ।
मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । अध्यक्षमा चयन हुनु भएका केरुङ नेपाली कांग्रेसका आबद्ध हुनुहुन्छ ।
९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट सदस्यहरुमा होमबहादुर विष्ट, मानबहादुर गिरी, रेणुका कोजु श्रेष्ठ र सुस्मिता भट्टराई खड्का मनोनित भएका हुन् ।
त्यस्तै बुधबार २ जना सदस्यलाई मनोनित गरिएको छ । जस्मा भवानी केरुङ र हेमा सिटौला छन् ।
यसैगरी सदस्यहरुमा शिक्षक प्रतिनिधि तिर्थ घिमिरे कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ र सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद न्यौपाने चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको आज बसेको वैठकले केरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।
२०७३ माघमा तमर राईको अध्यक्षतामा समिति गठन भएको थियो । उहाँको निधन भएपछि नयाँ समिति गठन हुन सकेको थिएन । उहाँको समिति २०७६ सालमा सकिएको थियो ।