मेचीनगर, साउन २२ । मेचीनगर नगरपालिका भित्रका पत्रकारहरुको छाता संस्था प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल चयन हुनु भएको छ । शनिबार सम्पन्न क्लबको अधिवेशनबाट बरालले अध्यक्षका अर्का प्रतिस्पर्धी शिशिर चम्लागाइँलाई १ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न निर्वाचनमा ५९ जना क्लबका मतदाता सदस्य मध्ये ४७ जनाले मतदान गरेका थिए । जसमा बरालले २४ र चम्लागाइँले २३ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक सन्तोस आचार्यले जानकारी दिनु भयो ।
शनिबार नै सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा जिआर धिताल, सचिवमा देवु बानियाँ र सहसचिवमा दिलिप थापा निर्वाचित हुनु भएको छ । समावेशी उपाध्यक्षमा रिता दाहाल र कोषाध्यक्षमा बिनिसा शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा होमराज राई, विश्वास दाहाल, सुजन प्रधान, गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत चयन हुनु भएको छ । दुई बर्षे कार्यकाल रहेको क्लबको कार्यसमितिले एक जनालाई मनोनित गरी कार्यसमिति सदस्य बनाउन सक्नेछ ।
क्लबको अधिवेशनको उदघाटन सत्रमा यस अघि देखि नै क्लबले वितरण गर्दै आएको मेचीनगर पत्रकारिता पुरस्कार र पत्रकारिता प्रोत्साहन पुरस्कार समेत वितरण गरेको थियो । मेचीनगर पत्रकारिता पुरस्कार सेतोपत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले निरौलालाई सम्मान पत्र सहित नगद ११ हजार १११ रुपैयाले सम्मानित गर्नु भएको थियो । त्यस्तै नगरका उदयीमान पत्रकार युवराज आचार्यलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । नगद ५ हजार ५५५ र सम्मान पत्र सहित नगर प्रमुख बुढाथोकीले आचार्यलाई सम्मानित गर्नु भएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख बुढाथोकीले पत्रकारले पुर्वाग्रह राखेर समाचार लेख्न नहुने र पैसामा समाचार बिक्रि गर्न नहुने बताउनु भएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख मिना उप्रेतीले नगरपालिकाले गरेका राम्रा कामहरुको प्रचारमा समेत मेचीनगरका पत्रकारहरुले चासो दिन आग्रह गर्नु भएको थियो ।
अधिवेशनको उदघाटन सत्रमा क्लबका संस्थापक अध्यक्ष सन्तोस आचार्य, पुर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला र मुक्ति पौडेल, मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित तामाङ, अग्रज पत्रकार जि एन शर्मा, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य मोहन काजी र रासस झापा प्रमुख अम्बिका भण्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।