झापा, साउन २० । दुई पटकको आगलागीका कारण घरसंगै सरसामान समेत नष्ट भए पछि घर बिहिन बन्नु भएकी झापा मेचीनगर १४ की लखि मर्डिले आज नयाँ घर पाउनु भएको छ ।
मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बिच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गर्नु भएको छ । मेची अभियानका परिकल्पनाकार समेत रहनु भएका काँग्रेस महामन्त्री शर्माले आगलागीबाट बास बस्ने ठाउँ समेत गुमाउनु भएकी लखि मर्डिलाई घर बनाइदिन सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनु भएको थियो ।
‘कसैको घर नजलोस,’ शर्माले भन्नुभयो, ‘यदि भवितव्य परिहाल्यो भने सबै दल र सबै संस्थालाई त्यागेर सहयोग गर्नु पर्छ ।’ मेची अभियान संकटमा परेका बेला अगुवाइ गर्ने संस्था भएकाले पनि यसको संयोजनलाई सबैले स्वीकार गरेको महामन्त्री शर्माले बताउनु भयो ।
दुवागढीस्थीत मजदुर बस्तीमा निर्माण गरिएको घर हस्तान्तरण कार्यक्रम अभियानका संयोजक विजय डालमियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्थानीय सहयोग समितिका अध्यक्ष विश्व थापाले ४ लाख १७ हजारमा घर निर्माण सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा मेचीनगर १४ का वडा सदस्य लाल मोहम्मद मियाँले चिया बगानमा मजदुरी गर्ने लखि मर्डिको घर निर्माण गरिदिएकोमा सबैलाई धन्यबाद दिनु भयो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुवेशकुमार पनेरु, काँग्रेसका प्रदेश ख सभापति सन्तोस न्यौपाने, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु, स्थानीय समुदाय लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ज्ञानेन्द्र निरौलाले गर्नु भएको थियो ।