झापा, साउन १६ । झापा, मेचीनगर नगरपालिकाको एउटा सामुदायिक विद्यालयकी महिला शिक्षकलाई वर्खास्त गर्न सिंगो समुदाय नै सक्रिय बनेको पाइएको छ ।
मेचीनगर नगरपालिका वडा नं. ७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षकलाई तत्काल विद्यालयबाट वर्खास्त गर्न स्थानीयवासीले विद्यालयमा सामुहिक निवेदन नै पेश गरेपछि घटना सतहमा आएको हो ।
दुइ महिना अघि सोही विद्यालयका तत्कालिन प्रधानअध्यापक अग्नी घिमिरेबाट यौन दुर्व्यवहार भोगेको घटना सेतोपत्र अनलाइनले सार्वजनिक गरेको थियो । यौनजन्य दुर्व्यवहारको शिकार भएकी महिलालाई सान्त्वना र हौसला दिनुको वदला सिंगो समुदाय नै उनी विरुद्ध खनिएर थप पीडा दिने काम भएको हो ।
तत्काल महिला शिक्षकलाई विद्यालयबाट निकाल्नु पर्ने अन्यथा वालवालिका विद्यालय नपठाउने र विद्यालयमा तालाबन्दी गर्ने चेतावनी अभिभावकका नाममा प्रेषित निवेदनमा दिइएको छ । साउन १३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई स्थानीयले निवेदन बुझाएका थिए । उक्त निवेदन विद्यालय प्रशासनले दर्ता समेत गरिसकेको बुझिएको छ ।
निवेदनमा हिंसा प्रभावित महिला शिक्षकलाई ‘चरित्रहीन’ को संज्ञा दिइएको छ । निवेदनमा भनिएको छ,‘महिला शिक्षकलाई स्कुलबाट वर्खास्त गरी शिक्षक–विद्यार्थीको समेत संरक्षण गरी अनुशासित र मर्यादित भई विद्यालय संचालन गर्न गराउन शिक्षक शिक्षिकाहरुलाई निर्देशन दिन हुन संचालक समितिलाई अनुरोध गर्दछौं ।’
३१२ जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयका ७२ जना अभिभावकहरुको हस्ताक्षर रहेको निवेदनमा अगाडी भनिएको छ,‘यदि हाम्रो निवेदन उपर कार्वाही नभए हाम्रा छोराछोरी स्कुल नपठाउने र स्कुलमा तालाबन्दी समेत लगाउने जानकारी गराउादछौ ।’
अरनिको माविका प्रधानअध्यापक विशाल भट्टराईले भने विद्यालयको अनुशासन उल्लघंन हुने कुनै काम ती महिला शिक्षकबाट नभएको बताउनु भएको छ । ‘म प्रधानअध्यपाक भएको करीब दुई महिना भयो,’ प्रधानअध्यापक भट्टराईले भन्नुभयो, ‘अहिलेसम्म वहाँबाट कुनै गलत काम भएको छैन, वहाँ आफ्नो काममा इमान्दार हुनुहुन्छ, प्रतिवद्ध हुनुहुन्छ ।’
महिला शिक्षकलाई विद्यालयबाट हटाउने कुनै योजना नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहालले बताउनु भयो । ‘वहाँलाई विद्यालयबाट हटाउने हाम्रो कुनै योजना छैन,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘तर, अभिभावकहरुले नै निवदेन लिएर आए पछि हामी अप्ठ्यारोमा परेका छौं ।’
ती शिक्षक एकल महिला पनि हुनुहुन्छ । उहाँले आफुलाई विद्यालयबाट हटाउने प्रयास भइरहेकाले सहयोग गर्न आम नागरिकलाई आह्वान गर्नु भएको छ । उहाँले केही दिन अघि शिक्षक महासंघ मेचीनगरमा निवेदन समेत दिएको शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनु भयो । आफ्नो जिम्मेवारी पुरा गरिरहेको एउटा शिक्षकलाई कुनै पनि हालतमा विद्यालयबाट हटाउन नपाईने अध्यक्ष पौडेलले बताउनु भयो ।
‘कसैले निवेदन हालेकै भरमा काम गरिरहेको शिक्षकलाई हटाउन पाइदैंन,’ महासंघ अध्यक्ष पौडेलले भन्नुभयो, ‘त्यसमाथि पनि वहाँ त आफैं पीडित हुनु भएको महिला हो, वहाँलाई सबैले संरक्षण गर्नु पर्ने अवस्था छ, यस्तो अवस्थामा वहाँलाई जागिरबाटै हटाउने कुरा सोच्न पनि हुन्न ।’
तिनै महिलालाई गत जेठमा सोही विद्यालयका तत्कालिन प्रधानअध्यापकले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक भए पछि प्रधानअध्यापकले शिक्षकबाट नै राजिनामा गर्नु भएको थियो । चौतर्फि दबाबका कारण ती महिला शिक्षकले तत्कालिन प्रधानअध्यापक बिरुद्ध प्रहरीमा कुनै उजुरी भने दिन मान्नु भएको थिएन ।