बिर्तामोड, साउन ३ । पुर्वोत्तर भारतको आसामको गुवाहाटीस्थीत आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई ५ करोड मुल्य बराबरको छात्रबृत्ति उपलब्ध गराउने भएको छ । डाउन टाउन युनिभर्सिटीका नेपाल संयोजक शंकर भट्टराईले आज पत्रकार सम्मेलनमार्फत नेपाली विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा १०० जनालाई छात्रबृत्ति युनिभर्सिटीले उपलब्ध गराउने योजना ल्याएको बताउनु भयो ।
‘बिर्तामोडस्थीत लक्ष्मी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक समेत रहनु भएका भट्टराईले पत्रकार सम्मेलनमा भन्नुभयो, यति ठूलो छात्रबृत्ति योजना पहिलोपल्ट नेपाली विद्यार्थीका लागि आएको छ । गुणस्तरिय शिक्षाका लागि यस प्रकारको योजनाबाट नेपाली विद्यार्थीहरुले फाइदा लिनु पर्ने भट्टराईले बताउनु भयो ।
छात्रवृत्ति पाउनका लागि यही साउन ११ गतेभित्र अनलाइनमा उपलब्ध निःशुल्क आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र साउन १३ गते हुने अनलाइन कमन टेस्टमा सहभागी बन्नु पर्ने भट्टराईले जानकारी दिनु भयो । टेस्टको प्राप्तांकका आधारमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम सार्वजनिक गरिने र फस्ट कम फस्ट सर्भिसको आधारमा भर्ना लिइने उनको भनाई छ ।
स्नातक तहको कुनै पनि फ्याकल्टीमा एउटा लेभल पढ्नका लागि पाँचदेखि ७ लाख भारु लाग्नेमा यो छात्रबृत्ति पाएमा कुनै पढाई शुल्क नलाग्ने वहाँले बताउनु भयो । शतप्रतिशत छात्रवृत्ति पाउनेले कुनै पढाई शुल्क बुझाउनु नपर्ने भए तापनि पचास प्रतिशत मात्र छात्रवृत्ति पाउनेले पढाई शुल्कको आधा रकम बुझाउनु पर्नेछ ।
छात्रबृत्तिको अवसर पाउने विद्यार्थीहरुले धरौटी शुल्क वापत दश हजार भारु र प्रोसेसिङ शुल्क वापत दश हजार भारु बुझाउनु पर्ने बताइएको छ । धरौटी शुल्क तह उत्तीर्ण भए पश्चात फिर्ता हुने व्यवस्था छ । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने छ ।
नेपालकै जस्तो हावापानी, भूगोल र संस्कृति भएको आसामको राजधानी गुवाहाटीमा यो युनिभर्सिटी रहेको छ । सन् २०१० मा वरिष्ठ डा। एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी युनिभर्सिटी सञ्चालन गरेका हुन् ।
आठ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् यो शिक्षण प्रतिष्ठान पूर्वोत्तर भारतको सबैभन्दा ठूलो विश्वविद्यालय हो । जहाँ भारत, भूटान, बंगलादेश लगायतका मुलुकबाट पढ्नका लागि विद्यार्थी आउने गर्छन् । हालसम्म ५०० भन्दा बढी विद्यार्थीले त्यहाँ अध्यययन पूरा गरिसकेको बताइएको छ ।
दुई सय पचास फ्याकल्टीमा ६० वटा प्रोग्राम सञ्चालन भइरहेको युनिभर्सिटीमा एसईईपछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा, प्लस टुपछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आईटी, मानविकी, वाणिज्य लगायतका विषयमा विद्यावारिधि तहसम्मको पठनपाठन हुँदै आएको छ ।
छात्रबृत्तिका लागि तलको लिङ्क मा गएर फारम भर्न सकिनेछ ।
https://adtu.in/scholarship/