झापा, साउन ३ । जुलाई २५ देखी भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार साफ यू–२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टोलीको घोषणा गर्नुभएको हो ।
टोलीको गोलरक्षकमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ सेख हुनुहुन्छ । त्यस्तै केसीले डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबालाई राख्नुभएको छ । मिडफिल्डमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान हुनुहुन्छ भने फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी हुनुहुन्छ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।