इटाभट्टा, असोज २ ।
मेचीनगर १० स्थीत धुलाबारी क्याम्पसलाई पूर्ण प्राविधिक क्याम्पसका रुपमा बिकास गर्ने योजना सहित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्न लागिएको मेचीनगर नगरपालिकाले बताएको छ ।
पोलिटेक्निक सञ्चालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले आज नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले धुलाबारी क्याम्पसकै पहलमा सिटिइभिटीले मेचीनगरका नाममा पोलिटेक्निक सञ्चालन अनुमति दिएको बताएका छन ।
धुलाबारी क्याम्पसले लामो समयदेखि प्राविधिक बिषयहरु सञ्चालनका लागि प्रयास गरिरहेको भए पनि तत्कालका लागि सिटिइभिटीको कानूनी प्रावधान अनुसार नगरपालिकाको नाममा ३ बर्षे डिप्लोमाको बिषयहरु सञ्चालन गर्ने गरी अनुमति ल्याएको भए पनि त्यो कार्यक्रम धुलाबारी क्याम्पसमा नै सञ्चालन गर्ने गरी पुर्व सहमति अनुसार नै ल्याइएको धुलाबारी क्याम्पस प्रमुख तथा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले पत्रकार सम्मेलनमा बताउनु भयो ।
धुलाबारी क्याम्पसले गरेको प्रयासका बारेमा बताउँदै क्याम्पस प्रमुख पौडेलले भन्नु भयो,‘धुलाबारी क्याम्पसलाई पुर्ण इन्जियरिङ क्याम्पस बनाउने योजना अनुसार नै अहिलेको पोलिटेक्निक सञ्चालनमा आउन लागेको हो ।’ वहाँले भन्नु भयो,‘हामी धुलाबारी क्याम्पसकै नाममा बिइ (Bachelor of Engineering) का बिषयहरु समेत सञ्चालनको तयारी गरिरहेका छौं त्यसैले पनि अहिले यो पोलिटेक्निक मार्फत बिइमा अध्ययन गर्ने बिद्यार्थी उत्पादनको तयारीमा लागेका छौं ।’ प्रमुख प्रशासक पौडेलका अनुसार पहिलो बर्ष नै दुई छुट्टा छुट्टै बिषयका लागि ६/६ जना गरी १२ जना बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।
बिद्यार्थीका लागि आवेदन खुलिसकेको मेचीनगर पोलिटेक्निकमा अध्यापन गराउने प्राविधिक जनशक्ति स्थानीयस्तरमा नै पर्याप्त रहेकोले पनि पोलिटेक्निक सञ्चालनमा समस्या नहुने पोलिटेक्निकका प्रिन्सिपल रुद्र मैनाली बताउनु भयो । मैनालीका अनुसार एउटा बिषयको ३ बर्षको कोर्ष पुरा गर्दा एक जना बिद्यार्थीले एक लाख ९० हजार शुल्क बुझाउनु पर्छ । जसमा भर्नाबापत ४० हजार र हरेक सेमेम्टरको २५ हजारका दरले किस्ताबन्दीमा शुल्क बुझाउन पाइने मैनालीले बताउनु भयो ।
पोलिटेक्निक सञ्चालनका लागि नगरपालिकाले नै रकमको ब्यवस्थापन गर्ने र त्यसको सञ्चालन नगरपालिकाले गठन गरेको सञ्चालक समिति मार्फत हुने मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले बताउनु भयो ।
मेचीनगरले शैक्षिक क्षेत्रको गौरबको योजना भित्र राखेर धुलाबारी क्याम्पसमा प्राविधिक बिषय अध्ययन गराउनका लागि पोलिटेक्निक सञ्चालन गर्न लागिएको नगर उपप्रमुख मिना उप्रेतीले पत्रकार सम्मेलनमा बताउनु भयो । उपप्रमुख उप्रेतीका अनुसार गरीब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि नगरपालिकाका सबै वडा मार्फत छात्रबृत्तिको ब्यवस्था गरेर भए पनि मेचीनगर पोलिटेक्निकमा बिद्यार्थी अध्ययन गराउने नगरपालिकाको योजना छ ।
तत्कालका लागि मेचीनगरले सञ्चालन गर्ने भन्ने देखिए पनि त्यसको ब्यवस्थापकीय काम धुलाबारी क्याम्पस मार्फत नै हुने र भविश्यमा धुलाबारी क्याम्पसलाई पुर्वकै गुणस्तरिय प्राविधिक क्याम्पसको रुपमा विकास गर्ने योजना अनुसार नै अहिले मेचीनगर पोलिटेक्निक सञ्चालन गर्न लागिएको मेचीनगरका प्रमुख बिमल आचार्यले बताउनु भयो । नगरप्रमुख आचार्यले भन्नु भयो,‘धुलाबारी क्याम्पस अब प्राविधिक क्याम्पस बन्छ त्यसका लागि नगरपालिकाले पहल शुरु गरेको छ ।’
धुलाबारी क्याम्पस बन्द हुनेगरी प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउन लागिएको भन्ने चर्चाका बारेमा बोल्दै नगरप्रमुख आचार्यले भन्नु भयो,‘धुलाबारी क्याम्पसको इतिहासलाई मर्न दिदैनौं, धुलाबारी क्याम्पस बन्द हुँदैन र त्यसलाई प्राविधिक क्याम्पसका रुपमा रुपान्तरित गरिने छ ।’
सिटिइभिटि र मेचीनगरको साझेदारीमा धुलाबारी क्याम्पसमा सञ्चालन हुने गरी यसै बर्षदेखि सुचना प्रविधी (आइटी) र आर्किटेक इन्जिनियरिङ बिषयका ३ बर्षे डिप्लोमाका कोर्षहरु सञ्चालन हुँदैछन ।