मेचीनगर, असार ११ । झापाको मेचीनगर नगरपालिकाले शुक्रबार एक कार्यक्रमका बिच आगामी आर्थिक बर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा एमालेको दुई तिहाई भन्दा बढी संख्या रहेको मेचीनगरको नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमा स्थानीय तह निर्वाचनका लागि एमालेकै घोषणा पत्रमा महत्वका साथ उल्लेख गरिएको स्वास्थ्य उपचार अक्षय कोषका बारे उल्लेख नै गरिएको छैन ।
मेचीनगरको ८० जनाको नगरसभामा ७२ जना नेकपा एमालेबाटै निर्वाचित जनप्रतिनिधि छन तर पनि दुई महिना अघि मात्रै नगर चुनावका बेला महत्वका साथ वितरण गरिएको एमालेको स्थानीय प्रतिबद्धता पत्रमा उल्लेख गरिएकै महत्वपूर्ण बिषय नीति तथा कार्यक्रममा अटाउन नसकेको पाईएको छ ।
चुनाव ताका नेकपा एमालेले वितरण गरेको स्थानीय प्रतिबद्धता पत्रमा मृगौला प्रत्यारोपणसहित मुटु, मस्तिष्कघात र क्यान्सर जस्ता जटिल रोगको उपचारमा ब्याज रकमबाट यथेष्ठ सहयोग गर्नका लागि रु १० करोडको स्वास्थ्य उपचार अक्षय कोष स्थापना गरिने उल्लेख गरिएको थियो । उक्त कोषमा नगरपालिकाले बार्षिक रुपमा रकम थप गर्दै जाने र विभिन्न दाताहरुले उपलब्ध गराएको रकम समेत सोही कोषमा जम्मा गर्ने र उपचारमा सहयोग गर्ने एमाले मेचीनगरको घोषणा पत्रमा उल्लेख गरिएको थियो ।
नीति तथा कार्यक्रममा विपन्न समूदायका परिवारका सदस्यलाई क्यान्सर, मुटुको अप्रेशन, मृगौला प्रत्यारोपण र मेरुदण्डको अप्रेशन जस्ता रोगको उपचारमा नगरपालिकाले प्रतिबर्ष प्रतिव्यक्ति अधिकतम रु २०,००० सम्म आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ ।
‘एमालेको घोषणा पत्रमा १० करोडको स्वास्थ्य उपचार अक्षय कोषको बिषय अत्यन्तै राम्रो थियो तर नीति तथा कार्यक्रममा नै नआउँदा अलि खल्लो भयो,’ एक स्थानीयले भन्नुभयो ।
बैशाख ३० गतेको स्थानीय तह निर्वाचन पहिलो पटक बसेको नगरसभाले नगरको निति तथा कार्यक्रमसंगै कुल बजेट समेत सार्वजनिक गरेको छ । धुलाबारीस्थीत पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आयोजित कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख मिना उप्रेतीले नगरको कुल बजेट प्रस्तुत गर्नु भएको थियो । आगामी बर्षकका लागि मेचीनगरले १ अर्ब ३२ करोडको कुल बजेट प्रस्तुत गरेको छ ।