मेचीनगर, जेठ २७ । झापा मेचीनगर ७ स्थीत अरनिको माविका यौन दुर्व्यवहारबाट पिडित महिला शिक्षकलाई प्रहरीमा उजुरी दिनबाट रोक्न चौतर्फी दबाब दिन थालिएको छ । विद्यालयका प्रधानअध्यापक अग्नी घिमिरेले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको सर्वाजनिक भएसंगै पिडित महिला शिक्षकलाई प्रहरीसम्म पुग्न नदिन चौतर्फी दबाब बढाइएको खुल्न आएको छ ।
घट्ना सार्वजनिक हुनु अघिदेखि नै विभिन्न पक्षले पिडित महिलालाई घट्नाबारे नबोल्न दबाब दिएको थियो भने सम्बन्धीत विद्यालय प्रशासनले घट्नाका बारेमा विद्यालय परिवारले बाहिर कुरा नगर्न उर्दी नै जारी गरेको बुझिएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नै महिला शिक्षकले प्रहरीमा उजुरी दिए प्रधानअध्यापकको मात्रै होईन विद्यालयकै गरिमामा आँच आउने कुरा गरेर विद्यालयका शिक्षकहरु कसैले पनि घट्नाका बारेमा बाहिर नबोल्न भनेको एक शिक्षकले बताउनु भयो ।
यसैबिच प्रधानअध्यापक घिमिरे सम्बद्ध पार्टी नेकपा एमालेले प्रहरीमा उजुरी नदिन पिडित महिलामाथि दबाब दिन थालेको छ । यौन दुर्व्यवहार जस्तो गम्भिर बिषयमा मेचीनगर ७ का वडा अध्यक्ष समेत रहनु भएका एमाले नेता प्रल्हाद ओली र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसमेत सहभागि भएर बिहिबार विद्यालयमा नै खुला छलफल चलाईएको छ ।
घट्नाका आरोपित प्रधानअध्यापक अनुपस्थित छलफलमा पिडित महिलालाई सहमतिमा घट्नालाई टुङ्याउन पहल गरिएको थियो । पिडकको आरोप लागेका प्रधानअध्यापक घिमिरेलाई सम्पर्क बाहिर राखेर पिडित महिलामाथि मात्रै एकोहोरो रुपमा घट्नाका बारेमा धेरै नबोल्न चौतर्फी दबाब बढाइएको स्वयम पिडित महिलाले महशुस गरेको बताउनु भएको छ ।
राजनितिक तथा सामाजिक मञ्चहरुमा महिला हिंसा बिरुद्ध गतिलै तर्क राख्ने राजनितिक तथा समाजिक अगुवाहरु समेत यो घट्नाका बारेमा मौन नै देखिएका छन । यसबाट पनि आरोपित प्रधानअध्यापक घिमिरेलाई जोगाउन पिडित महिला शिक्षकमाथि चौतर्फी दबाब दिन थालिएको र यसले हिंसा गर्नेहरुको मनोबल झन बढ्ने खतरा बढेको सोही विद्यालयका एक शिक्षकले बताउनु भयो ।
यस अघि प्रधानअध्यापक घिमिरेले आफ्नै विद्यालयकी महिला शिक्षकमाथि पटक पटक यौन दुर्व्यवहार गरेको घट्ना सेतोपत्र डटकमले बुधवार सार्वजनिक गरेको थियो ।