झापा, जेठ २५ । झापाको मेचीनगर नगरपालिकाको एउटा विद्यालयका प्रधानअध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । मेचीनगर ७ स्थीत अरनिको माविका प्रधानअध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गरे पछि महिला शिक्षकले विद्यालयका सहकर्मीहरुलाई आफुमाथि भइरहेको हिंसाका बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयमा घट्नाका बारेमा जानकारी भए पछि प्रधानअध्यापकले पीडित महिला शिक्षकलाई जागिरबाट निकालिदिने, सार्वजनिक रुपमा बेइज्जत गर्ने जस्ता धम्की दिए पछि महिला शिक्षकले डराएर घट्नाका बारेमा सार्वजनिक गर्न नसकेको बिद्यालयस्रोतले जनाएको छ ।
प्रधानअध्यापकले मोबाइलमार्फत पटक पटक यौनजन्य म्यासेज गरेको, कक्षा कोठामा पढाइरहेको बेला अनावश्यक कुरा लिएर कक्षा कोठामा नै पटक पटक गएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरुको भ्रमण जाँदा समेत यौनहिंसा जन्य क्रियाकलाप गर्ने गरेको, महिला शिक्षकले गलत नियतले म्यासेज नगर्न र आफु त्यसखालको महिला नभएको भनेर पटक पटक प्रतिकार गर्दा समेत पनि प्रधानअध्यापकले जागिर खाइदिने धम्की दिने गरेकोले पनि पिडित शिक्षकले घट्नाका बारेमा सार्वजनिक रुपमा बोल्न डराउनु भएको छ ।
पिडित महिला शिक्षकलाई जेठ २१ गते शनिबारका दिन प्रधानअध्यापकको घरमा बोलाई परिवारले जबरजस्ती घट्नाका बारेमा बाहिर बोल्दिन भन्न लगाएर मोबाइलबाट भिडियो समेत बनाएको खुल्न आएको छ ।
घट्नाका बारेमा विद्यालय परिवार र व्यवस्थापन समितिलाई समेत जानकारी भए पछि घट्ना सार्वजनिक नगर्न र घट्ना बाहिर ल्याउने शिक्षकहरुलाई बहिस्कार गर्ने विद्यालय परिवारले धम्की समेत दिएको स्रोतले बताएको छ ।
यसैबिच आफ्नै विद्यालयको महिला शिक्षकमाथि यौनजन्य दुर्व्यवहार गरेको घट्ना सार्वजनिक हुने र कानूनी सजाय भोग्नु पर्ने डरले उक्त विद्यालयका प्रधानअध्यापकले बुधबार विहान प्रधानअध्यापक सहित शिक्षक पेशाबाट नै राजिनामा दिनु भएको छ ।
किन राजिनामा दिनु भएको भन्ने सेतोपत्रको प्रश्नमा प्रधानअध्यापकले भन्नुभयो, ‘मेरो स्वास्थ्य बिग्रिएकाले पेशाबाट नै राजिनामा दिएको हुँ ।’ महिला शिक्षकले यौनजन्य हिंसाको आरोप तपाईमाथि लगाउनु भएको छ नि भन्ने अर्को प्रश्नमा प्रधानअध्यापकले भन्नुभयो, ‘केही गफगाफ भएकै हो, गफ गर्दैजाँदा अलि अगाडी नै बढेछ र परिवारमा पनि थाहा भयो ।’
आफुमाथि परेको पिडा केही सहकर्मी र स्वमय प्रधानअध्यापकको परिवारका सदस्यलाई सुनाउँदा समेत पनि आफुलाई नै गलत आरोप लगाएर एक्लो बनाएका कारण पिडित शिक्षक अत्यन्तै डराएको बताइएको छ । त्यसै कारण पनि घट्नाका बारेमा वहाँले अहिले पनि सार्वजनिक रुपमा बोल्न सक्नु भएको छैन ।
यस अघि पनि अहिले आरोपित हुनु भएका प्रधानअध्यापकबिरुद्ध नै विद्यालयकी एक छात्राले यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाउनु भएको थियो । उक्त घट्नामा विद्यार्थीका अभिभावकले विद्यालयमा उजुरी समेत गरेको खुल्न आएको छ । तर उक्त घट्नालाई विद्यालय भित्रै गुपचुप पारिएको स्रोतले बताएको छ ।