झापा, जेठ २१ । मेचीनगर नगरपालिकाले संघीय सरकारबाट ८३ करोड ५८ लाख रकम पाउने भएको छ । आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेटमा संघीय सरकारले विभिन्न शीर्षक र योजनाका लागि दिइने बजेटमा झापामा सबैभन्दा धेरै मेचीनगर नगरपालिकाले उक्त रकम पाउने भएको हो ।
संघीय सरकारबाट आउने अनुदानमा मेचीनगरको चालु आ.ब भन्दा करीब एक करोड ५० लाख रकम बढेको छ । यस बाहेक पनि प्रदेश सरकारबाट मेचीनगरले अनुदान र विभिन्न आयोजनाका लागि थप रकम पाउने छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्दैछ ।
झापाका लागि मात्रै ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले बजेट प्राप्त गरेको हो भने सबैभन्दा हल्दिबारी गाउँपालिकाले ३० करोड ९९ लाख पाउने भएको छ ।
दमक नगरपालिकाको ७१ करोड ५१ लाख, बिर्तामोड नगरपालिकाको लागि ७० करोड ७९ लाख, शिवसताक्षी नगरपालिकाको लागि ५७ करोड १४ लाख, गौरादह नगरपालिकाको लागि ५० करोड ९७ लाख, भद्रपुर नगरपालिकाको लागि ४९ करोड ८७ लाख, अर्जुनधारा नगरपालिकाको लागि ४९ करोड ४२ लाख र कन्काई नगरपालिकाको लागि ३५ करोड ७६ लाख विनियोजन भएको छ ।
यस्तै गाउँपालिकाहरुमा कमल गाउँपालिकाका लागि ४७ करोड २४ लाख, बुद्धशान्ति गाउँपालिकाका लागि ३९ करोड १५ लाख, कचनकवल गाउँपालिकाका लागि ३८ करोड ३६ लाख, बाह्रदशी गाउँपालिकाका लागि ३७ करोड ३३ लाख, झापा गाउँपालिकाका लागि ३७ करोड ६ लाख र गौरीगञ्ज गाउँपालिकाका लागि ३२ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।