कोभिड १९ अर्थात कोरोना भाईरसका कारण समग्र विश्व नै आक्रान्त बनेको छ । चिनको बुहानवाट सुरु भएको यो महामारी हाल बिश्वका सवैजसो मुलुकमा प्रवेश गरिसकेको छ । ध्ज्इ का अनुसार सेप्टेम्वर १७, २०२० सम्ममा विश्वभरमा कोरोना संक्रमण फैलिएका २१६ वटा देश÷क्षेत्रमा ३०,३४८,५७९ जना संक्रमित भएका छन् । जसमध्ये ९,५०,५४५ जनाको मृत्यु भएको छ । नेपालमा पनि २०७७ असोज १ सम्मको आकडा हेर्ने हो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ५९,५७३ संक्रमित पहिचान भएकोमा ४२,९४९ जना कोरानामुक्त भएर सन्चो भएका छन् भने ३८३ जनाको कोरानाका कारण मृत्यु भएको छ ।
कोरोनाका संक्रमणको दर दिनानुदिन बढ्दै गईरहेको छ । नेपाल सरकारले २०७६ चैत्र ११ गतेवाट देशभर लागु गरेको लकडाउन र त्यसपछिका निषेधाज्ञाले पनि संक्रमणको दर घटेको छैन । कोरानाका कारण विश्व अर्थतन्त्रमा नराम्रो असर परेको छ । नेपालमा पनि संक्रमणको दर सोचे अनुरुप नघटेता पनि करिव ६ महिनाको लकडानका कारण यसले केही सकारात्मक र नकारात्मक असरहरु देखाएको छ ।
लकडाउन र निषेधाज्ञाका कारण सधै ब्यस्त रहने मानिसले परिवारसंग समय विताउन पाएको छ । शहर बजार केन्द्रीत भएको बसोवास अहिले आएर मानिसहरु आफ्नै गाउँमा फर्केका छन् । गाउँमा मानौ चाडपर्व आएको भान भएको छ । जसको फलस्वरुप यस बर्ष चार लाख हेक्टर बढीमा रोपाई भएको कुरा समाचारमा आएका छन् ।
सवारी साधान तथा कलकारखानाहरु बन्द हुनका कारण वातवरणमा स्वच्छता आएको छ । विगतमा मौसमी रुघाखोकी आदिले सताउने गरेकोमा यस अवधिमा त्यस्तो अवस्था देखिएन । फजुल खर्चमा कमि आएको छ । प्रविधिको उच्चतम प्रयोग भएको छ । गोष्ठि, बैठक, सेमिनारहरु अनलाईन प्रविधिवाट संचालनका कारण खर्चमा समेत कमि आएको छ । स्वास्थ्य सेवाहरु थपिएका छन् । गाउँ सुधार अभियानमा युवाहरुको सक्रियता थपिएको छ । मानिसहरुमा स्वदेशमा नै केही गरौ भन्ने भावनाको विकास भएको छ । क्वारेन्टाईन, आईसोलेसन, लकडाउन, सटडाउन आदिका वारेमा नबुझेका म जस्तालाई यसले धेरै कुराहरु सिकाएको छ ।
कोभिड १९ महामारीको सन्त्रासले गर्दा पश्चिमा संस्कृतिमा ढल्कीेदै गरेको हाम्रो समाजलाई आफ्नो संस्कृतिनै बैज्ञानिक रहेको र अगाल्न प्रेरित गरेको छ । हात मिलाउनको साटो नमस्कारको परिपाटीलाई उजागर गरेको छ । वैदिककालमा धर्म संस्कृति र जीवनशैलीमा अहिले जस्तो बिरोधाभाष थिएन । धर्म संस्कृति र जीवनशैली एउटै थियो । पूर्विय दर्शनले विकास र विस्तार गरेको भान्सा संस्कृति अनुसार भान्सेले नुवाएर कपडा फेरर खाना बनाउने । खाना खाँदा नुवाएर धोती फेरेर खाने । बाहिरबाट आएपछि हात गोडा धोएर मात्र भित्र पस्ने । अन्तेष्टी (मृत्यु संस्कार) तेह« दिन सम्म किरिया बस्ने । मलामीबाट फर्केपछि नुवाएर गहुँत छर्किने । आकशतिर फर्केर हाच्छीउ नगर्ने । मेलापातबाट आएपछि आगो पानी छोएर मात्र बालबच्चा छुने लगायतका संस्कृति थिए । खानेकुराहरु राम्रोसंग पकाएर मात्र खाने । बेसार, लसुन, अदुवा, मरिच लगायतका मसलाको नियमित प्रयोग गर्ने, बासी खाना नखाने हाम्रो चलनलाई आज बिश्वका बिभिन्न देशहरुले चासो देखाएका मात्र छैनन् अनुशरण समेत गर्न थालेका छन । कोराना पछि यसवाट बच्ने उपायहरुलाई हेर्ने हो भने करीब करीब सवैले यी उपायहरुलाई अँगालौ भनेको हामी पाउँछौ ।
यो हुँदा हुँदै पनि यस माहामारीका कारण बिश्व अर्थतन्त्रमा नराम्रो असर परेको छ । विश्वब्यापि रुपमा आर्थिक मन्दी छाउने देखिएको छ । नेपालमा पनि यातायातका साधन, कलकारखाना, हवाईसेवा, ब्यापार ब्यसाय ठप्प रहेको अवस्था छ । कैयौ मानिसहरुले रोजगारी गुमाएका छन् । मान्छे देखि मान्छे डराउने अवस्थाको सृजना भएको छ । कोरोना संक्रमित हुने बितिकै अछुतको ब्यबहार भएको, सामाजिक बहिस्करणमा परेका विभिन्न समाचारहरु हामीले सुनिरहेका छौ । संक्रमितको घरमा मानिसले ताला लगाईदिएको, मलामि नपाईएको जस्तै थुप्रै ज्वलन्त उदाहरणहरु हामी माझ छन् । समुदाय विचमा नयाँ पकृतिका विवादहरु देखिन थालेका छन् । बेरोजगार अवस्थाका कारण चोरी लुटपाटका घटनाहरुपनि बढीरहेका छन् । मानिसहरुमा मनोसामाजिक समस्याहरु समेत देखा पर्न थालेका छन् । पारिवारिक कलह तथा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढीरहेका छन् । अर्थिक अवस्था तथा ब्यक्ति ब्यक्ति बिचमा मन फाटेकै कारण हत्या आत्महत्या जस्त घटनाहरु बढीरहेका छन् । करिव ३४०० मानिसले यस महामारीको अवधिमा आत्महत्या गरेको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
समाजमा देखापरेका विभिन्न विवादहरु समाधानका लागी स्थापना भएका सर्वोच्च अदालत लगायत देशैभरका उच्च तथा जिल्ला अदालतहरु लकडाउका बखत बन्द भएका थिए । अर्धन्यायीक निकाय तथा कानुनद्वारा अख्तियार प्राप्त निकायमा समेत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द भएका छन् । आम मानिस विच भएका विवाद समाधान अत्यावश्यक सेवामा परेका छैनन् । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई शून्य अवधि मानेको छ । स्थानिय तहमा भएका कतिपय न्यायीक समितिले पनि न्यायिक काम कारवाहीलाई स्थगन गरेका छन् । यस दुःखको घडीमा मठ मन्दिर लगायतका धार्मिक स्थलहरु बन्द भएका छन् । पिर मार्का परेमा गुहार्ने प्रायः जसो ठाउँहरु बन्द भएतापनि मेलमिलापकर्ताहरु भने यो कोरोनाको कहरमा पनि दिनहुँ दिन मेलमिलाप गराउन प्रक्रियामा सहजिकरण गरिरहेका छन् । महोत्तरी जिल्ला गौशाला नगरपालीका वडा नं.११ का मेलमिलापकर्ता द्वय श्री रामइश्वर राय र श्री ललितकुमार महत्तोको भनाई अनुसार अरुलाई लकडाउन लागे पनि हामी मेलमिलापकर्ताहरुलाई लकडाउन नलाग्ने रहेछ लकडाउन भनेर घर बस्न पाइदैन । दिनहुँ कुनै न कुनै विवादमा सहजिकरण गरिरहेको बताउनु हुन्छ । गाउँघरमा रहेका फाटेका मन सिउने डाक्टहरु अर्थात मेलमिलापकर्ताहरुले आफ्नो सहयोग जारी राखेका छन् ।
विवाद समाधानको लागि स्थानीयस्तरमा कार्यरत मेलमिलापकर्ताहरु गाउँघरमा देखापरेका विवादहरुलाई मेलमिलापका माध्यमवाट समाधान गरि शान्ति निर्माण कार्यमा अग्रसर देखिएका छन् । विवादमा सहजीकरणका साथै स्थानिय तहमा संक्रमितहरुको ब्यस्थापनमा समेत मेलमिलापकर्ताहरुले सहयोग गरिरहेका छन् । मेलममिलाप केन्द्रमै रहेर ब्यवस्थीत रुपमा काम गर्न नसकेतापनि समुदायमै रहेर मेलमिलापकर्ताहरुले सहयोग गरिरहेको अवस्था छ । नेपाल सरकार लगायत विभिन्न निकायहरुले कोरोना महामारीका कारण प्रभावग्रस्त विभिन्न क्षेत्रहरुको पहिचान त गरेको छ, तर मेलमिलापको क्षेत्र भने उपेक्षित बनेको छ ।
नेपालको संविधानको भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको धारा ५१(ट) मा न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति अन्र्तगत सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरू अवलम्बन गर्ने भन्ने प्रावधान रहेको छ । यसैगरी नेपालको संविधान २०७२ को धारा २१७ मा व्यवस्था भए अनुसार ७५३ वटै स्थानीय सरकारमा न्यायिक समिति गठन भएको छ । गाँउपालिकाको उपाध्यक्ष तथा नगरपालिकाको उप–प्रमूखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहेको छ । मेलमिलापकर्ताहरु स्थानिय तहमा शान्ति स्थापनाकालागी न्यायीक समितिको सहयोगीको रुपमा काम गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा व्यवस्था भए अनुसार कानुनतः मेलमिलाप गराउन मिल्ने विवादहरु न्यायिक समिति र वडाका मेलमिलाप केन्द्रहरुमा दर्ता हुने गर्दछन् । मेलमिलाप गराउन पाउने अधिकार केवल मेलमिलापकर्तालाई मात्र रहेको छ । न्यायिक समितिले निरुपण गर्ने विवादमा समेत सम्भव भएसम्म मेलमिलापबाट समाधान गर्ने प्रयाश गर्नु पर्दछ भनेर स्थानिय सरकार संचालन ऐनमा उल्लेख गरिएको छ । हरेक वडामा गठन गरिएको मेलमिलाप केन्द्रमा मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रम अनुसार तालिम प्राप्त गरेका मेलमिलापकर्ताहरुले मेलमिलाप सेवा प्रदान गर्दछन । नेपालको संविधान २०७२ को अनुसूचि ८ मा स्थानिय तहमा मेलमिलाप तथा मध्यस्थताको ब्यवस्थापन स्थानिय तहको अधिकार क्षेत्र भित्र राखिएको छ । तर मेलमिलाप प्रक्रिया कस्तो हुने ? तालिम संचालन कसरी र कसवाट हुने ? मेलमिलापकर्ताको योग्यता कस्तो हुने ? भन्ने सन्दर्भमा मेलमिलाप सम्वन्धी ऐन २०६८ र नियमावली २०७० ले निर्दिष्ट गरेको छ ।
विवादका पक्षहरुबीच सहमति कायम गरी विवादको समाधान गर्न निष्पक्ष तटस्थ तेश्रो पक्षबाट सहजकर्ताको भूमिका निर्वाह गरी सञ्चालन गरिने संवाद र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया नै मेलमिलाप प्रक्रिया हो । न्यायिक प्रक्रियामा समुदायको सहभागिता कायम गरी सामाजिक मूल्य मान्यताका आधारमा विवादको समाधान हुनु पर्दछ भन्ने मान्यतालाई यस अवधारणाले आत्मसात् गरेको छ । यसमा विवादका पक्षहरु मेलमिलापकर्ताको सहयोगमा विवाद समाधानका लागि सकारात्मक दृष्टिकोण राखी छलफल गर्दछन् ।
मेलमिलापले दुबै पक्षहरुलाई आपसी खुला छलफल एवं सहमतिद्वारा विवादलाई समझदारीमा पु¥याउने बाटोमा डो¥याउछ । यस प्रक्रियामा पक्षहरुले उचित विकल्पहरु आफै खोजेर खुल्ला छलफल गरी सहमतिमा पुग्दछन् । मेलमिलाप कुनै अदालती सुनुवाइ होइन । यस प्रक्रियामा साक्षी, प्रमाण आदि कुनैको पनि खासै आवश्यकता रहदैन । यो कुनै “दोषी” वा “निर्दोषी” ठह¥याउने अथवा “ठीक” र “बेठीक” छुट्टयाउने प्रक्रिया पनि होइन । यस प्रक्रियामा न्यायग्राहीले आ–आफ्नो अडानबाट अलि पर सरेर सहमतिको विन्दुमा पुगी विवादको समाधान गर्दा विवादको समाधान सहज, सरल, छरितो, कम खर्चिलो र दीर्घकालीन हुन्छ । यसबाट आफूले स्वीकार गरेको परिणाम प्राप्ती हुने हुँदा मनोवैज्ञानीक सन्तुष्टि समेत हुन्छ । विवादका पक्षहरूलाई सहयोग गर्न तेस्रो पक्षको उपस्थिति रहन्छ जसलाई मेलमिलापकर्ता भनिन्छ । मेलमिलापकर्ताको भूमिका विवादका पक्षहरूबीच सहजकर्ताको रुपमा मात्र रहन्छ तर वाध्यात्मक भूमिका रहँदैन ।
विवादका कारण विभाजित समाजलाइ आपसी सम्बन्ध र विश्वासलाइ मजबुत पार्दै दिगो शान्ति कायम गर्नको लागी मेलमिलाप अत्यन्तै महत्वपूर्ण औजार हो । गाउँगाउँमा खुलेका मेलमिलाप केन्द्र फाटेका मन सिउने अस्पताल हुन् भने मेलमिलापकर्ताहरु फाटेका मन सिउने डाक्टर हुन् । हरेक मानिसको जीवन र सम्वृद्धिसँग जोडिएको आपसी मेलमिलाप र शान्तिको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति भनेकै मेलमिलापकर्ता हुन ।
मेलमिलापकर्ताहरु समुदायसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले कोरोनाको महामारिमा मेलमिलापलाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भनेर मेलमिलाप परिषद् र स्थानिय सरकारले सोच्नुपर्ने बेला भएको छ । यो किन पनि जरुरी छ भने यो अवस्था कहिले समान्य बन्छ कसैलाई पनि थाहा छैन । तर विवादको संख्या दिन प्रतिदिन बढी नै रहेका छन् । गाउँघरमा खुलेका मेलमिलाप केन्द्रहरु विवाद समाधानको पहिलो खुट्किलोको रुपमा विकशित हुँदै गएका छन् । यसर्थ, स्वास्थ्य क्षेत्रको विस्तार तथा ब्यवस्थापन संगै फाटेका मन सिउने अस्पताल तथा यसका डाक्टरहरु समेतको उचित ब्यवस्थापन हुन जरुरी देखिएको छ । मेलमिलापकर्ताहरुमा परेको प्रभावको लेखाजोखा गर्नु स्थानिय सरकार र मेलमिलाप परिषद्को प्रमुख दायित्व हुन आएको छ । साथै मेलमिलाप कार्य संचालनमा लागी परेका परिषद्मा सुचिकृत संस्थाहरुले समेत मेलमिलापकर्ता एवं मेलमिलापकर्ताको ब्यवस्थापन तथा आगामि दिनको बाटोका सम्वन्धमा परामर्श बैठकहरु गर्न एकदमै जरुरी देखिएको छ । प्रत्येक मेलमिलाप केन्द्रमा ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको ब्यवस्था गर्नुका साथै भौतिक दुरी कायम गर्ने गरि छलफलको वातावरण तय हुने खालको संरचना निर्माण गर्नुपर्ने देखिएको छ । अनलाईन प्रविधिका माध्यमवाट मेलमिलाप प्रक्रिया संचालनको सम्भाव्यता अध्ययन गर्न जरुरी रहेको छ ।
मेलमिलापकर्ता बन्न मेलमिलाप सम्वन्धी आधारभुत तालिम लिएको ब्यक्ति हुनुपर्ने ब्यवस्था रहको छ र उक्त तालिमको सम्वन्धमा मेलमिलाप परिषद्ले ४८ घण्टे आठ दिशिय आवाशिय तलिमको प्रावधान राखेको छ । तालिम संचालनका सम्वन्धमा मेलमिलाप सम्वन्धी नियमावली २०७० को नियम ४६ बमोजिम परिषद्ले ताकेको संस्थालेमात्र तालिम संचालन गर्न पाउने ब्यवस्था गरेको छ । हालको यस अवस्थामा आवश्यक दक्ष जन शक्ति उत्पादनका लागी तालिमहरु संचालन भएका छैनन् । आगामी दिनमा पनि ताकिएको समयको आवाशिय तालिम गर्ने अवस्था देखिदैन । तर धेरैजसो स्थानिय सरकारमा अझै पनि चाहिए जतिको मेलमिलापकर्ताहरु उत्पादन भएका छैनन् । मेलमिलापकेन्द्रहरु पनि खुल्ने प्रक्रियामानै रहेका छन् । यसर्थ, तालिमको समयावधी परिमार्जनको सम्वन्धमा अथवा अनलाईन प्रविधिको प्रयोग गरेर तालिम संचालन गर्न सकिने बारेमा परिषद् तथा स्थानिय सरकारले सोच्नु जरुरी रहेको छ । अनलाईन प्रविधिवाट तालिम संचालन गर्दाको बखत उक्त तामिलको मान्यता हुने कि नहुने ? अथवा अनलाइन तालिम संचालनको निर्देशिका मेलमिलाप परिषद्ले तयार गर्न एकदमै जरुरी देखिएको छ ।
अन्त्यमा, मानिसहरुको विचको तिक्तता मेटाउन र फाटेका मनहरुलाई आपसि संवादको सियोले सिई विश्वासको धागोले टाँका लगाई सम्वन्ध सुधार सहित समाजमा दिगो शान्ति कायम गर्नका लागी मेलमिलापकार्ताको भुमिका अपरिहार्य भएको छ । कोरोना कहरमा त झन समुदायलाई एकढिक्का बनाएर यस महामारिको बिरुद्ध सकारात्मक उर्जा सहित लड्न मेलमिलापकर्ताहरुको काधमा थप जिम्मेवारी थपिएको छ । यसर्थ मेलमिलाप क्षेत्रको उचित ब्यवस्थापन र प्राथमिकताको विषय बनाई दिगो बिकासका लक्ष्यहरुमध्ये लक्ष्य १६ (दिगो विकासका लागि शान्तिपूर्ण तथा समावेशी समाजलाई बढावा दिने, न्यायमा सवैलाई पहुँच दिने र सबै तहमा प्रभावकारी, जिम्मेवार तथा समावेशी संस्था निर्माण गर्ने) प्राप्तिका लागी सम्वन्धीत तह निकायहरु र सम्पूर्ण सरोकारवालाहरुले समयमा नै ध्यान दिन आजको आवश्यकता भएको छ । यही नै समयको माग हो । जय मेलमिलाप ।
लेखक : प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालका बरिष्ठ कार्यक्रम अधिकृत हुनुहुन्छ ।