झापा, जेठ १४ । नेकपा एकीकृत समाजवादीले मेचीनगर नगरपालिकामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई नगरबासीको हितमा काम गर्न दबाब स्वरुप आफ्नो पार्टीको घोषणा पत्र बुझाएको छ ।
नवनिर्वाचित प्रमुख बुढाथोकी र उपप्रमुख मिना उप्रेतीलाई बधाई दिन नेकपा एस का केन्द्रीय सदस्य शारदा शर्मा घिमिरेको नेतृत्वमा शुक्रबार नगरपालिका पुगेको टोलीले नगरप्रमुख र उपप्रमुखलाई बधाई दिंदै पार्टीको घोषणा पत्र समेत बुझाएको थियो ।
निर्वाचनमा जनमुखी स्थानीय सरकार, सुशासन र भ्रष्टाचारमुक्त पालिका, स्वास्थ्य, शिक्षा, विजुली, खानेपानी जस्ता जनताका आधारभूत अधिकारका लागि स्थानीय सरकारको प्राथमिकता, ढुंगा गिटी बालुवाको अनियन्त्रित दोहनमा रोक, कालाबजारी र महंगी नियन्त्रण, रोजगारीको नयां क्षेत्रहरूको सिर्जना, उत्पादनका क्षेत्रहरूको विस्तार, किसान र बालीको राजकीय सुरक्षा, यस नाममा हुने ठगीधन्दामा रोक, अनावश्यक कर र जनताका लागि आवश्यक कागजातमा लिइने शुल्कहरूमा महंगो शुल्कको कटौति गर्ने लगायतका मुद्दा लिएर जनतामाझ गएको र त्यही अनुरुप काम गर्न नगर नेतृत्वलाई स्मरण गराउन नेकपा एसले तयार गरेको चुनावी घोषणा पत्र बुझाएको केन्द्रीय सदस्य घिमिरेले बताउनु भयो ।
वहाँले भन्नुभयो, ‘आम रूपमा श्रमजिवि जनताको हितमा स्थानीय सरकारको लगानी र प्रथमिकता राखेर समाजवादको आधार तयार पार्ने कामहरुलाई हाम्रा मुद्दा बनाएका थियौं अब त्यो निर्वाचित हुनेले पुरा गर्नु पर्छ ।’
श्रमजिवि जनताहरूका कामलाई हदैसम्मको सजिलो बनाउने, जनप्रतिनिधिहरू पहुंचवालाहरूको कब्जामा रहने तर गरिब जनताहरू भने सानो कामका लागि घण्टौं कुर्नुपर्ने, दिनौं धाउनुपर्ने, अनेक झण्झट र परेशानी व्यहोर्नुपर्ने कुराबाट नगरपालिकाको प्रशासनलाई मुक्त गराएर जनमुखी प्रशासनको आभार दिलाउन नगर नेतृत्वलाई आग्रह गरेको नेकपा एस मेचीनगरका सचिव हरि तिम्सिनाले बताउनु भयो ।
जनताका माझ एउटा बाचा गर्ने तर काम भने अर्कै गर्ने विकृत राजनीतिक छलकपटको भने हामी निरन्तर खबरदारी गर्ने नेकपा एसका नेता सुभद्रा भट्टराईले बताउनु भयो । नगर नेतृत्वको कामलाई गुण र दोषका आधारमा हाम्रो सक्रिय समर्थन र विरोध रहने नेकपा एस मेचीनगरले जनाएको छ । उक्त अवसरमा नेकपा एसका नेताहरु निरोज कट्टेल, बिमला देवकोटा लगायतको उपस्थिति रहेको थियो ।