श्री गोपालचन्द्र बुढाथोकी ज्यू
नगर प्रमुख, मेचीनगर नगरपालिका
इटाभट्टा झापा ।
सर्वप्रथम त मेचीनगर नगरपालिकाको प्रमुख पदमा विजयी हुनु भएकोमा तपाइलाई धेरै धेरै बधाई अनि कार्यकाल सफलताको शुभकामना दिन्छु । आम मेचीनगर बासीले भरोसा र विश्वास गरेर अबको पाँच बर्ष तपाइको नेतृत्वको टिमलाई मेचीनगरको बागडोर दिएका छन । यही नगरबासी हुनुका नाताले तपाइलाई आज यो खुला पत्र मार्फत केही आग्रह गर्न गइरहेको छु । यो आग्रह मैले व्यक्तिगत रुपमा सार्वजनिक गरेको भए पनि यसमा समेटिएका बिषय बहुसंख्यक नगरबासीहरुले उठान गरिरहेको बिषय हो भन्ने बुझ्न पनि म तपाईलाई आग्रह गर्दछु ।
मेचीनगरलाई अन्य नगरपालिका सरह एउटा पालिकाका रुपमा मात्रै हेरियो भने त्यो गलत हुन्छ । किनकी मेचीनगर नेपालको अनुहार हो । जसरी हरेक मानिसको पहिलो परिचय उसको अनुहार नै हो, त्यस पछि मात्रै उसको नाम, ठेगाना जोडिए जस्तै नेपालको पनि पुर्वी विन्दुमा रहेको नगरपालिका हुनुका नाताले यो नगर हाम्रो देशको अनुहार नै हो । त्यसैले यसको परिचय नै नेपालको परिचय हो भन्न कत्ति पनि अप्ठ्यारो मान्नु पर्दैन । मेचीनगर जस्तो छ, नेपाल त्यस्तै छ भन्ने बुझाई आगन्तुकहरुमा पर्छ नै । जसरी मानिसको शरिरमा बाहिर वा भित्र कतै कुनै समस्या देखिए त्यसको प्रभाव अनुहारमा प्रष्ट देख्न सकिन्छ । त्यसैगरी मानिसको खुसी पनि उसको अनुहारबाट नै थाहा पाउन सकिन्छ । त्यस्तै मेचीगनर खुसी देखिए देश खुसी देखिने र देशमा कतै समस्या भए त्यसको असर मेचीनगरमा देखिने नै भएकाले पनि मेचीनगरको सर्वाङ्गीण विकासलाई नेपालको अनुहार सफा बनाउने रुपमा बुझियो भने त्यसले तपाइ र तपाइको नेतृत्वमा रहेको टिमको काममा गम्भिरता ल्याउने छ ।
आज यो खुला पत्र मार्फत बुंदागत रुपमा केही कुरा तपाइ समक्ष राख्दैछु ।
१) नगरपालिकाको काम कारबाहीलाई पूर्ण पारदर्शी बनाउन नगरका सबै बैठक र छलफल भिडियो वा अडियो लाइभ गर्ने व्यवस्था मिनाउन अनुरोध गर्दछु ।
२) नगरका बहुसंख्यक नागरिकले नगरपालिकामा धेरै भ्रष्टचार हुने गरेको छ भनेर औपचारिक र अनौपचारिक फोरमहरुमा भन्ने गरेको सुनिन्छ । यदि त्यो सत्य हो भने त्यसको निराकरणका लागि पहिलो दिनबाटै उच्च स्तरिय छानविन समितिमार्फत अनुसन्धान सुरु गर्नुहोस । यदि बाहिर आए जस्तो भ्रष्टाचार भएको छैन भने त्यसको पनि स्पष्ट धारणा बाहिर निकालेर अबका दिनमा हाम्रो नगरलाई भ्रष्टचारबाट मुक्त राख्न आम नागरिकले देखिने गरी ठोस कदम चाल्नुहोस ।
३) अहिलेसम्म केन्द्र, प्रदेश वा स्थानीय सरकारले नै किन नहोस विकास भनेको भौतिक संरचना निर्माण मात्रै हो भन्ने बुझाई छ । तर एउटा नागरिक स्वास्थ्य प्रतिकुलताका कारण तपाइले निर्माण गरिदिएको कुनै पनि भौतिक सुख सुविधा लिन सक्दैन भने उसकालागि त्यो भौतिक विकासको के अर्थ रह्यो र ? हिजो तपाइलाई मतदान गरेका कैयौं नगरबासी विरामी थिए, उपचार नपाएर थलिएका छन । सकि नसकि तपाइलाई जिताउन भनेर मतदान केन्द्रसम्म पुगेर भोट हालेका छन त्यो गम्भिरतालाई बुझेर आम नगरबासीको स्वास्थ्य उपचारमा खर्चको जोहो गर्ने काम नगरपालिकाबाट गराउनुहोस । एउटा आम नगरबासी जसले सामान्य बिरामीको पनि उपचार गर्न नसकेर मृत्यु कुर्नु पर्ने बाध्यात्मक अवस्था छ त्यसका लागि पहिलो दिनबाटै सम्पूर्ण उपचार खर्च नगरपालिकाको तर्फबाट व्यहोर्ने संयन्त्रको निर्माण गरेर अगाडी बढ्नुहोस ।
४) नगरपालिका भित्र जनप्रतिनिधि र कर्मचारी गरी दुईवटा संयन्त्र सक्रिय रहन्छ । यो दुई संयन्त्रको सुझबुझ पूर्ण तालमेलबाट मात्रै नगरपालिका गतिशिल बन्न सक्छ । तर त्यसमा एउटा विषेश आग्रह छ कि तपाई जनताबाट अनुमोदित हुँदै गर्दा थुप्रै कुरा भनेर जानु भएको छ त्यो कुरा कर्मचारी संयन्त्रको हकमा लागु हुँदैन । जनताको प्रश्नको उत्तर दिने काम तपाईकै हो । त्यसैले जनतालाई शीरमा राखेर नगरको दुवै संयन्त्रले काम गरेको महसुश गर्न पाइयोस ।
५) नगरपालिकालाई मिडियामैत्री बनाउनुहोस । भएका राम्रा कामको प्रचारमा नगरमा रहेका सञ्चारगृहहरुको भरपुर उपयोग गर्नुहोस । तर नगरबाट भएका नराम्रा कामहरुको बारेमा सञ्चारगृह र सञ्चारकर्मीहरुले उठाउने प्रश्न र गर्ने खबरदारीलाई पनि सकरात्मक रुपमा ग्रहण गर्नुहोस ताकि नगरविकासमा स्थानीय मिडिया र मिडियाकर्मीहरु एउटा महत्वपूर्ण सहयोगीका रुपमा क्रियाशील बन्न सकुन । गएको पाँच बर्षमा मेचीनगरपालिकाले एउटा प्रवक्ता सम्म चयन गर्न नसकेर नगरका कुरा समयमा बाहिर नआएर धेरै समस्या भए तर अब तपाइ नेतृत्वको नगर कार्यपालिकाको पहिलो बैठकबाट नै एक जनालाई प्रवक्ताको जिम्मेवारी तोकिएको सुन्न पाइयोस ।
६) गएको पाँच बर्षमा थुप्रै मानिसहरु नगरपालिकासंग जोडिएर गन्हाएका छन । आज फेरि तिनै मानिस तपाइको छेउछाउ घुमिरहेका हुन सक्छन । त्यस्ता व्यक्ति र प्रबृत्तिको संरक्षणमा तपाई लागेको हामीले देख्नु नपरोस । अब तपाईको छेउछाउमा कस्ता व्यक्ति हुन्छन भन्ने कुराले तपाईबाट कति अपेक्षा गर्ने भन्ने स्पष्ट नै हुन्छ । त्यसैले नगरबासीको चाहाना बिरुद्ध गलत व्यक्ति र प्रबृत्तिलाई साथ लिने काम तपाइबाट नहोस ।
विजय भइसके पछि आयोजना गरिएको विजय सभालाई सम्बोधन गर्दै परम्परागत शैलीको शासन व्यवस्थाको पक्षमा आफु नरहेको उदघोष गर्नु भएको छ । नयाँ शैलीमा शासन सञ्चालन गर्ने बताउनु भएको नजिक बसेर सुन्न पाएको छु । त्यो कुरालाई नगरपालिका प्रवेश गरेको पहिलो दिनबाटै महशुस गराउनु होस । विजय उत्सवको शैलीले त नयाँपन दिन सकेन तर अब नगर प्रवेश र पहिलो निर्णयले नयाँ शैलीको शासन व्यवस्था सुरु हुने रैछ भन्ने आभास आम मेचीनगरबासीमा पार्न सफल हुनुहोस भन्ने आग्रह पनि छ ।
अन्त्यमा, यही नगरको सञ्चारकर्मी हुनुका नाताले तपाइ र मेरो भेट बाक्लै हुनेकुरामा दुई मत छैन । तपाई र तपाइको नेतृत्वमा भएका राम्रा कामको खुलेर प्रसंशा गर्न मलाई कुनै वाद र दर्शनले रोक्दैन । तर तपाइले गरेका कमजोरीलाई खुलेरै जनता सामू ल्याउँदै गर्दा तपाइ र तपाईसंग जोडिएकाहरुबाट कुनै वाद र दर्शनको टोको लगाएर खोइरो खन्ने काम भए पनि त्यसको जिम्मा तपाइलाई नै लगाउँदै आजलाई यतिमै यो खुला पत्र अन्त्य गर्छु ।
ज्ञानेन्द्र निरौला
मेचीनगर ७, झापा