मेचीनगर, जेठ १० । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मेचीनगर नगरपालिकाको मतगणना सकिएको छ । आज विहान ४ बजे सकिएको मतगणनाका अनुसार नगरप्रमुखमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा एमालेकै मिना उप्रेती विजयी हुनु भएको छ ।
मेचीनगरका प्रमुख पदमा ९ जना उम्मेद्वारहरु चुनावी मैदानमा हुनुहुन्थ्यो । जसमा विजयी हुने नेकपा एमालेका बुढाथोकीले २६४७८ मत ल्याउनु भयो । वहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१३११ मत ल्याउनु भयो । राप्रपाका रमेश दाहालले ३८९५ मत पाउँदा कुखुराको भाले चुनाव चिन्ह भएको मंगोल नेशनल अर्गनाइजेसनका प्रमुख पदका उम्मेद्वारले १८८७ मत पाउनु भएको छ ।
त्यस्तै अन्य चुनाव चिन्हरु साइकलले १९१, हाँसमा ४२, खानेपानीको धारामा ४०, हसियाँ तारामा ३९, किवोड सहितको कम्प्युटरमा १४ मत प्राप्त भएको छ ।
त्यसैगरी उपप्रमुख तर्फ विजयी हुने एमालेकी मिना उप्रेतीले २१५९० मत पाउनु भएको छ भने वहाँका निकटत प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश भण्डारीले १२८१८ मत पाउनु भएको छ । राप्रपाकी सविना बजगाईले ९८८० मत पाउनु भएको छ ।
उपप्रमुखका अन्य चुनाव चिन्हहरु कुखुराको भालेले २०२४, खानेपानीको धाराले ११९९, कलमले ४१६, साइकलले १९४ र किवोर्ड सहितको कम्प्युटरले २२ मत प्राप्त गरेको छ । मेचीनगरमा ६३ हजार ३३९ मत खसेको थियो भने १९७० मत पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।