झापा, जेठ १० । मेचीनगर नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकी विजयी हुुनु भएको छ । आज विहान सम्पन्न मतगणनामा एमालेका बुढाथोकीले काँग्रेसका इन्द्र बहादुर बुढाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै नगर प्रमुखमा विजयी बन्नु भएको हो । गोपाल बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गर्नु भएको छ भने इन्द्र बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेकी मिना उप्रेती विजयी हुनु भएको छ । उप्रेतीले माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्नु भएको छ । उप्रेतीले २१ हजार ५९० मत प्राप्त गर्दा भण्डारीले १२ हजार ८१८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
मेचीनगरका १५ वटा वडा मध्ये ११ वटा वडामा नेकपा एमालेले वडा अध्यक्ष जितेको छ । काँग्रेसले ३ वटा वडा र माओवादीले एउटा वडामा जित हासिल गरेको छ ।
नेकपा एमालेले वडा नंं १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ मा जितेको छ भने नेपाली काँग्रेसले वडा नंं ६, ८ र १५ मा जित हासिलको छ । माओवादी केन्द्रले वडा नंं १४ मा जित निकालेको छ । नगरको कुल ७७ जना निर्वाचितमा नेकपा एमालेकै बहुमत सदस्य निर्वाचित भएका छन ।