झापा, जेठ ६ । झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो गृहनगरमा पराजय भोग्नु पर्ने संकेत देखिएको छ । एमाले अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकामा मतगणना सकिन लाग्दा प्रमुखमा एमाले उम्मेद्वार भन्दा राप्रपाका उम्मेद्वार ५०० मतले अगाडी हुनु हुन्छ भने उपप्रमुखमा एमाले उम्मेद्वार भन्दा काँग्रेसका उम्मेद्वार ४०० मतले अगाडी हुनुहुन्छ ।
दमकमा एमालेका प्रमुख पदका उम्मेद्वार गिता अधिकारीलाई राप्रपाका राम थापाले ५०० भन्दा बढी मतान्तरले अग्रता लिनु भएको छ । त्यस्तै उपप्रमुखमा एमालेका अम्बिका प्रसाद खनाललाई काँग्रेसकी रेगिना भट्टराईले ४०० भन्दा बढी मतले अग्रता लिनु भएको छ । दमकमा अब १३०० मत मात्रै गणना गर्न बाँकी रहेको छ ।
अहिले जारी रहेको वडा नं. ६ को मतगणनामा पनि प्रमुखमा थापा र उपप्रमुखमा भट्टराई ले नै अग्रता लिइरहेको हुनाले पनि एमाले अध्यक्ष ओलीले गृहनगरमा पराजयको सामना गर्नु पर्ने अवस्था देखिन्छ ।
त्यस्तै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा पनि नेपाली काँग्रेसका प्रमुख पदका उम्मेद्वार एमाले उम्मेद्वारभन्दा करीब १५०० मतले पछि पर्नु भएको छ ।
शर्माको गृह नगरमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका इन्द्रबहादुर बुढाथोकी प्रमुखमा र माओवादी केन्द्रका प्रकाश भण्डारी उपप्रमुखमा उम्मेद्वार हुनुहुन्छ । करीब २२ हजार मत गणना भइसक्दा काँग्रेसका प्रमुखका उम्मेद्वार बुढाथोकीभन्दा एमालेका गोपालचन्द्र बुढाथोकी १५०० भन्दा बढी मतले अगाडी हुनुहुन्छ । त्यस्तै उपप्रमुखमा माओवादीका भण्डारी भन्दा एमालेकी मिना उप्रेती ३ हजार भन्दा बढी मतले अगाडी हुनुहुन्छ ।
मेचीनगरको वडा नं. १, २, ३ र १३ एमालेले जितेको छ भने वडा नं. १४ माओवादी र वडा नं. १५ काँग्रेसले जितेको छ । अहिले मतगणना जारी रहेका वडाहरु वडा नं. ४, ५, ११ र १२ सबैमा एमालेका प्रमुख र उपप्रमुख नै अगाडी हुनुहुन्छ । त्यसैले पनि अब मेचीनगरमा एमालेको प्रमुख र उपप्रमुख नै विजयी हुने संकेत देखिएकोले काँग्रेस महामन्त्री शर्माले गृहनगरमा पराजय व्यहार्नु पर्ने अवस्था देखिएको छ । १५ वडा रहेको मेचीनगरमा ६ वटा वडाको परिणाम आइसकेको छ भने ९ वटा वडाको परिणाम आउन बाँकी छ ।