नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार बर्षे कार्यकाल सुखद अन्त्य गर्दै बिदाई भए । जसै कुलमान बिदाई भए तेसैबेला देखि केही युवाहरुले उनको पुर्न नियुक्तिको माग गर्दै सडक प्रर्दशन समेत गरेका छन । यसबाट पनि थाहा हुन्छ कि कुलमान आम नागरिकको मनमा बस्न सफल भए । नहुन पनि कसरी १८ घण्टाको लोडसेडिङलाई शुन्यमा झार्ने पात्र हुन कुलमान ।
बिद्युत प्राधिकरण लामो समयदेखि बिवाद र लोडसेडिङको मारमा थियो तर चार बर्ष अघि प्राधिकरण प्रवेश गरेका कुलमानले आफ्नो नेतृत्वमा प्राधिकरण भित्रको विवाद मात्रै साम्य पारेनन लोडसेडिङको कहालीलाग्दो युग नै समाप्त गरिदिए । त्यसैले पनि आम नेपालीको मन मनमा बसेका अग्ला ब्यक्तित्व हुन कुलमान ।
तर के बिद्युत प्राधिकरण कुलमान बिहिन भएर चल्दैन त ? भन्ने प्रश्न पनि यतिबेला उत्तिकै उठेको छ । कुलमान एउटा ब्यक्ति हुन जसले असल नियतले काम गरे र त्यसले सफलता प्राप्त गर्यो । तर प्राधिकरण एउटा संस्था हो । जहिले पनि संस्था र ब्यक्ति बीचको संघर्षमा ब्यक्तिलाई होईन संस्थालाई छान्नु पर्ने हुन्छ । तर कुलमानको हकमा त्यो भएन किनकी प्राधिकरणले यस अघि कहिल्यै नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने लोडसेडिङ जस्तो बिषयमा गभ्भिरता देखाएन । त्यही ठाउँमा पुगे पछि कुलमानले त्यसको समुल अन्त्य गरिदिए ।
कुलमान असल र क्षमतावान ब्यक्ति हुन यसमा कुनै शंका छैन तर मेरो बुझाई अलि फरक छ । असल र क्षमतावान कुलमान जस्ता ब्यक्तिले नेपालका थुप्रै ठाउँ सुधार गर्नु पर्ने छ । यस्ता ब्यक्ति थोरै छन र बिग्रिएका ठाउँ धेरै छन । त्यसैले कुलमान जस्ता ब्यक्तिलाई एउटै ठाउँमा दोहोर्याउनु हुदैन ।
कुलमान नियुक्ति हुँदा पनि सडकमा उर्लिएको भिडले नियुक्ति गरेको होईन र त्यो सभ्भव पनि छैन । र अहिले पनि कुलमानको नियुक्ति सडकबाट हुँदैन । त्यसैले कुलमानले बिद्युत प्राधिकरणमा गरेको कामको मुक्त कण्ठले प्रशंसा गरौं र त्यो ठाउँमा अब अरुलाई पठाएर कुलमानलाई अर्को बिग्रिएको ठाउँमा पठाउन सरकारलाई दबाब दिउँ ।
सरकारले पनि अहिले एउटा राम्रो अवसर पाएको छ । भ्रष्टचार र विवादले थला परेको बिद्युत प्राधिकरणलाई सहि दिशामा हिडाउन सक्ने कुलमानलाई अर्को एउटा बिग्रिएको संस्था बनाउन पठाउने यो भन्दा राम्रो अवसर सरकारका लागि सायदै फेरि आउँदैन ।
हाम्रा केही सरकारी संस्था यसरी थला परेका छन की त्यस्ता संस्थामा कुलमानलाई किन नपठाउने भनेर पनि यो बेला सोच्नु पर्ने छ । नेपाल वायुसेवा निगम पुरानो र नेपालको अन्तराष्ट्रिय छवि निर्माण गर्न प्रत्यक्ष बल पुर्याउने संस्था हो । तर अहिले त्यो संस्थाले हाम्रो देशको छवि कस्तो बनाएको छ सबैका सामु छर्लङ्ग छ । वायुसेवा निगममा कुलमानलाई पठाउनु पर्छ र त्यसलाई विश्वकै उत्कृष्ट हवाइ सेवा प्रदायक संस्थाका रुपमा रुपान्तरित गर्नु पर्छ ।
त्यस्तै नेपाल आयल निगमको चुहावटका बारेमा जानकार नहुने कमै हुनुहोला । आयल निगम सुधार्न कुलमानलाई पठाउनु पर्छ । ताकी अबका केही बर्ष भित्र आम नेपालीले इन्धनका लागि धेरै धपेडी गर्नु नपरोस । त्यस्तै बर्षौ देखि मेलम्चीको पानी काठमाण्डौबासीलाई खुवाउँछौ भनेर झुटो आश्वासन दिने संस्था नेपाल खानेपानी संस्थानमा कुलमानलाई पठाएर तत्कालै काठमाण्डौ शहरलाई पानी नै पानीको शहर बनाउनु पर्छ ।
कुलमान जस्ता ब्यक्तित्व पठाउनु पर्ने अर्को महत्वपूर्ण संस्था हो नेपाल यातायात ब्यवस्था विभाग । यो विभाग आम नेपालीले पाउने सास्तीको अर्को नाम हो । न कुनै सिस्टम छ । न त कुनै काम चुस्त दुरुस्त हुन्छ । दलाल नै दलालले घेरिएको यातायात ब्यवस्था विभागमा कुलमानलाई किन नपाठाउने ?
त्यसैले बिद्युत प्राधिकरण यसरी सुधारियो कि अब जो कोही कार्यकारी निर्देशक भएर गए पनि त्यसले पछ्याउने बाटो कुलमान कै हो । यदी बिद्युतमा गएर गलत बाटो रोजे अब जनताले तत्काल थाहा पाउनेछन किन की हिजो कुलमानले गर्दा हुने र अब अर्कोले गर्दा नहुने भन्ने अवस्था पटक्कै हुँदैन ।
कुलमान जस्ता कर्तब्य निष्ट र क्षमतावान ब्यक्तिको कार्य दक्षतालाई खुम्च्याएर एउटा संस्था मात्रै सुधार गरेर बाँकी अरु संस्था लथालिङ्ग छोड्ने अवस्थाको हामी कल्पना गर्न सक्दैनौं । त्यसैले कुलमानलाई बिद्युत प्राधिकरणमा दोहोर्याएर अरु संस्थामा आफ्नो कमजोरी लुकाउने काम नगर सरकार । कुलमानलाई अन्य बिग्रेका संस्थामा पठाएर सुधार गर्ने मौका देउ सरकार ।