झापा, बैशाख २६ । ‘मेची नदि पारी पनि नेपाल छ’ झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर हामीले सुन्दै आए जस्तो नेपालको सिमाना पुर्वमा मेची र पश्चिममा महाकाली भित्रमात्रै सिमित छैन । झापाको मेचीनगर नगरपालिका वडा नं.१५ मा पर्ने मेची पारी पनि नेपाली भुभाग छ ।
मेची पारीको नेपाल भनेर चिनिने त्यस क्षेत्रमा तीन वटा गाउँहरु छन । ग्वाला बस्ती, झाडो बस्ती र सिसौ डाँगी गरी करीब ४५ वटा घरहरु रहेको यी तीन गाउँमा पुग्न मेची नदि तरेर जानु पर्छ । करीब ५५ जना मतदाता रहेको मेची पारीको नेपालमा अरु बेला खासै राजनितिक दल र तिनका नेता पुग्दैनन तर जब चुनाव आँउछ तब नेता र कार्यकर्ताहरु पुग्ने स्थानीयहरु बताउँछन ।
हरेक पटकको चुनावमा राजनितिक दलहरु विभिन्न विकास निर्माणको योजना लिएर गाउँमा आउने तर चुनाव सकिएसंगै दलका नेता कार्यकर्ताले उनीहरुलाई बिर्सिने गरेको ग्वाला बस्तीका अगुवा मोतिलाल यादबले बताउनु भयो ।
मेची पारीका स्थानीयहरुको धेरै ठुला माग पनि छैन । उनीहरुको सबैभन्दा ठुलो समस्या भनेकै मेची नदि हो । मेची नदि तरेर मात्रै नेपालको अन्य भुभागसंग जोडिन सकिने भएकाले नदिमा एउटा झोलुङ्गे पुल हुने हो भने आफुहरुलाई अस्पतालदेखि वडा कार्यालयसम्म जान र छोराछोरीहरुलाई बिद्यालय जान पनि धेरै सजिलो हुने स्थानीय रेणु यादबले बताउनु भयो । ‘नेतारुले चुनावका बेला आउँदा तुरुन्तै झोलुङ्गे पुल बनाइदिने भन्छन, रेणुले भन्नुभयो,’ ‘तर चुनाव सकिए पछि बिर्सिन्छ ।’
२०७४ को चुनाव पछि वडा कार्यालयले बिजुली जडान गरिदिएको छ तर खोलामा राखेको बिजुलीको पोल भने बर्षातको समयमा आएको बाढीले लडाएर बिजुली अवरोध हुने भएकाले समस्या आइरहने मोतिलालले बताउनु भयो । ‘वडा कार्यालयले बिजुली त ल्याइदियो,’ मोतिलालले भन्नुभयो, ‘खोलामा बाढी आउँदा बिजुलीको पोल लडाउँछ र बर्षातको समयमा हाम्रो गाउँ नै लामो समय अन्धकार हुन्छ ।’
बिजुलीको पोललाई व्यवस्थीत गरेर बर्षातको बाढीले पनि कुनै समस्या नआउने बनाएर नियमित बिजुली आइरहने बनाइदिन यसपाली भोट माग्न आउनेहरुलाई आफुहरुले सुनाएको स्थानीय सुवल यादबले बताउनु भयो ।
ग्वाला बस्तीमा कक्षा २ सम्मको एउटा विद्यालय छ । तर खोलामा पुल नहुँदा शिक्षकहरु नै आउन नसक्ने भएकाले पनि पडाइ नियमित हुन नसकेको स्थानीय युवा सञ्जय राजबंशीले बताउनु भयो । ‘हामीलाई स्कुल जान पनि खोलाले समस्या हुन्छ,’ राजवंशीले भन्नुभयो, ‘पुल हुँदा हामी विद्यालय जान सजिलो हुन्थ्यो ।’
सबैभन्दा समस्या बिरामी हुँदा पर्ने गरेको स्थानीयहरुको गुनासो छ । बिरामी हुँदा एम्बुलेन्स गाउँसम्म पुग्दैन । मेची नदिका कारण नेपालमा उपचार गराउन सकिने अवस्था नै हुँदैन । ‘अचानक बिरामी परियो भने भारत नै जानु पर्ने बाध्यता छ’ स्थानीय मोतिलालले भन्नुभयो, ‘नेपालको अस्पताल जान नपाए पछि सरकारले दिएको स्वास्थ्य विमा र अन्य सुविधा हामी पाएका छैनौं ।’
झापा जस्तो सुगम जिल्लाको बासी भएर पनि दुर्गम बन्न पुगेको मेची पारीको नेपाली भुभागका नागरिकहरुको समस्या समाधान गर्न राजनितिक दल र तिनका नेतारुले खासै कुनै पहल भने अहिलेसम्म गरेका छैनन ।
यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा मेचीनगरमा नेपाली काँग्रेस र नेकपा एमाले दुवै दलका स्थानीय घोषणा पत्रमा मेची पारीका गाउँ जाने झोलुङ्गे पुल बनाउने उल्लेख गरेका थिए तर नगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका प्रतिनिधिले चुनाव जितेको पाँच बर्ष बितिसके पनि मेची नदिमा झोलुङ्गे पुल बनाउने प्रक्रियासम्म पनि शुरु भएन ।