झापा, बैशाख २५ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि प्रकारको अहंकार नदेखाई मतदाताहरुसंग भोट माग्न काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वारहरुलाई आव्हान गर्नु भएको छ । ‘अहंकार देखाउने जिम्मा कमरेड केपी ओलीलाई नै दिउँ,’ महामन्त्री शर्माले भन्नुभयो, ‘देश बनाउने जिम्मा अब हामीले लिएका छौं ।’
कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताउँदै शर्माले एमालेको नामै नलिई कसैलाई बलियो देखेर चुनावी तालमेल नगरेको स्पष्ट समेत पार्नु भयो । आइतबार झापाको मेचीनगर १४ स्थीत धाइजनको चुनावी सभामा बोल्दै महामन्त्री शर्माले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराएर तालमेललाई अनुमोदन गर्न मतदाता समक्ष आग्रह गर्नु भयो । ‘काँग्रेसलाई एक्लै चुनाव नलडौँ भन्ने नलागेको होइन’ वहाँले भन्नुभयो, ‘सहकार्यबाट अघि बढ्दा देशका लागि राम्रो हुने निष्कर्षका साथ पार्टीले चुनावी तालमेल गर्ने निर्णय लिएको हो ।’ चुनावी तालमेल गर्नुको अरु कुनै कारण नभएको वहाँले दोहोर्याउनु भयो । चुनाव रेस्लिङ खेल्ने र दुष्मनी साध्ने विषय नभएको उल्लेख गर्नु भएका महामन्त्री शर्माले मत दिनु भनेको दण्डित र पुरस्कृत गर्नु दुबै भएको बताउनु भयो । ‘मत दिएर सधैँ जिताइदैन मात्रै कहिले काहीँ दण्ड पनि दिइन्छ,’ वहाँले भन्नुभयो, ‘मतदान नगर्ने कुरा कसैले नगरौँ गल्ती गर्नेलाई मतदान गरेरै दण्डित गरौँ ।’ पहिलोपटक मतदान गर्न लागेका मतदातालाई प्रश्न गर्न वहाँले आग्रह समेत गर्नु भयो । सभ्य र सुसंस्कृत देश बनाउन मतदाताका लागि निर्वाचन अवसर भएको वहाँको तर्क छ ।
महामन्त्री शर्माले जनताले दिएको मत विश्वास गर्न नसक्ने र संविधानलाई मास्न खोज्नेलाई भोट दिनेकी मतको सम्मान र संविधानको रक्षा गर्नेलाई भोट दिने हो त्यसको उपयुक्त समय आएको बताउनु भयो । प्रतिगमन विरुद्ध आन्दोलन गरेका शक्तिहरु स्थानीय तह चुनावमा तालमेल र मित्रवत प्रतिस्पर्धामा उत्रेको वहाँले बताउनु भयो । अरुलाई गठबन्धन गरे भनेर गाली गर्ने केपी ओलीलाई एमालेले राप्रपा नेपाल र परिवार दलसँग के गरेको भनेर महामन्त्री शर्माले प्रश्न गर्नु भयो । वहाँले एमाले सग्लो नरहेको, गम्भीर मतभेद र संकटमा फसेको जिकिर गर्नु भयो । एमाले अध्यक्ष ओली जस्तो तल्लो स्तरको गाली कुनै पनि दल र तिनका नेतालाई नगर्न कार्यकर्तालाई आव्हान गरेका गर्दै शर्माले स्वस्थ प्रतिस्पर्धामा जोड दिनु भयो ।
अहंकारले कसैको पनि हित नगर्ने बताउनु भएका शर्माले ओलीको अहंकारकै कारण एमाले सत्ताच्युत भएको दाबी गर्नु भयो । ‘पाँच वर्षलाई शासन गर्न जनताले मत दिएका थिए,’ वहाँले भन्नुभयो, ‘कम्युनिष्टहरुले पाँचमा शून्य थपेर पचास वर्ष बनाउन खोजेकैले समस्या आएको हो ।’ वहाँले धेरै स्थानना काँग्रेसले जितेर नागरिकको सेवा गर्ने अवसर नगुमाउन नेताकार्यकर्तालाई आग्रह समेत गर्नु भयो । यसअघि आज नै शर्माले भद्रपुरको देवकोटाचोक, बुद्धशान्तिको गुराँसबस्तीका चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो । आजै मेचीनगर ७ को इटाभट्टा चौक र मेचीनगर ६ को काकरभिट्टामा आयोजित चुनावी सभालाई समेत काँग्रेस महामन्त्री शर्माले सम्बोधन गर्नु भएको थियो ।